काठमाडौबाट रुकुम पश्चिमको सल्ले विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअर्टर जहाज नेपालगन्जमा अवतरण गराईएको छ । पाइलटको तोकिएको ‘ड्यूटी आवर’ सकिएपछि विमान आईतबार साँझ नेपालगञ्जमा रोकिएको थियो ।
नेपाल वायु सेवा निगमका एक अधिकारीका अनुसार नेपाल नागरिक उड्यन प्राधिकरण र अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठनले पाइलटका लागि एक दिनमा १० घण्टा वा १० पटकको ल्यान्डिङसम्म उडान गर्न पाउने भनि निश्चित समयावधि तोकेको छ ।
त्यो समयावधि भन्दा बढी समय पाइलटले जहाज उडाएमा एयरलाइन्स र पाइलट दुबैलाई नियामक निकायले कारवाही गर्छन् । यसै बाध्यताका कारण आईतबार काठमाडौंबाट सल्लेका लागि उडेको जहाजले नेपालगन्जमा नाइटस्टप गरेको बताईएको छ ।
ड्यूटी आवरको सीमा मिच्न नपाईने भएका कारण जहाज नेपालगन्जमा अवतरण गरिएको एक कर्मचारीले बताएका छन् । उक्त जहाज आईतबार काठमाडौंबाट रुकुम पश्चिम आएर नेपालगञ्ज गएर बस्ने तालिका थियो ।
तर आईतबार रुकुम पश्चिम नपुगि नेपालगञ्जमा बसेको जहाज सोमबार बिहान रुकुम पश्चिम अवतरण गरेको नेपाल वायु सेवा निगमका रुकुम पश्चिम स्टेशन इन्चार्ज गोविन्द गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौंबाट रुकुम पश्चिम आउनुपर्ने यात्रुलाई नेपालगञ्जमा एयरलाईन्सले आफ्नै खर्चमा राखेको थियो ।