Kakhara सबैको खबर सम्पूर्ण खबर
कांग्रेस रुकुम पश्चिमको अधिवेशनः सहमतिका लागि कार्यदल गठन
खलंगा बजारमा देखिएका जिल्ला अधिवेशनमा आएका प्रतिनिधिहरु ।

नेपाली कांग्रेस रुकुम पश्चिमको सातौं जिल्ला अधिवेशन अन्तरगत बन्द सत्र सकिएको छ । बन्दसत्रले सहमतिबाटै नेतृत्व चयन गर्नुपर्ने निष्कर्षका साथ गोपालजिजंग शाहको नेतृत्वमा ४ सदस्यीय कार्यदल गठन गर्दै उक्त कार्यदललाई सहमतिका लागि अधिकतम प्रयास गर्ने जिम्मा दिएको छ । 

कार्यदलमा पार्टीका वर्तमान सभापति प्रेमप्रकाश ओली, पूर्व पार्टी सभापति मानवहादुर नेपाली र पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य कृष्णबहादुर रोकाय सदस्य रहनुभएको छ । उक्त कार्यदलले आजै सबै पालिका सभापतिहरुसंग छलफल गर्ने पार्टी सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । 

बन्दसत्रले सहमतिमै नेतृत्व चयन गर्न कार्यदललाई अधिकार दिएको र सबै नेता तथा कार्यकर्ताको माग पनि सहमतिमै नेतृत्व चयन हुनुपर्ने भएकाले सहमतिका लागि अधिकतम प्रयास भइरहेको उहाँले बताउनुभयो । सहमतिमा नेतृत्व टुंगिने उहाँको दाबी छ । ‘हामी सहमतिमै नेतृत्व चयन गर्ने प्रयासमा छौं, नेता, कार्यकर्ताको चाहना पनि त्यही छ, सहमतिमा नेतृत्व चयन हुने सम्भावना बढी छ, उहाँले भन्नुभयो ।’ 

भोली बिहानसम्म सहमतिका लागि प्रयास गर्ने र सहमति जुट्न नसकेमा भने प्रक्रियामा जाने उहाँको भनाई छ । पार्टी सभापतिका लागि वर्तमान सभापति ओली र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य रोकायको तिव्र आकांक्षा देखिएको छ । 

रोकायलाई अन्य कुनै सन्तोषजनक पद दिने आश्वासनमा पुनः ओलीलाई नै सभापति दोहोर्याउने गरी छलफल भइरहेको बुझिएको छ । रोकायले सन्तोषजनक पद पाउने निश्चित नभएमा भने चुनाव हुने कांग्रेस निकट स्रोतको भनाई छ । स्रोतका अनुसार रोकायलाई पार्टीको कर्णाली प्रदेशको महामन्त्री बनाउने सत्रमा मनाउने प्रयास भइरहेको छ ।

कांग्रेसको सातौं जिल्ला अधिवेशन हिजो मुसीकोटमा उद्घाटन भएको थियो । बन्दसत्र भने आज अवेर मात्र सुरु भएको थियो । बन्द सत्रमा बोल्ने अधिकांश वक्ताहरुले सहमतिमै नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update