Kakhara सबैको खबर सम्पूर्ण खबर
अझै टुंगो लागेन कांग्रेस रुकुम पश्चिमको नेतृत्व

नेपाली कांग्रेस रुकुम पश्चिमको नेतृत्व चयनमा ढिलाई भएको छ । अस्ति सातौं जिल्ला अधिवेशन उद्घाटन भएको थियो । तर अहिलेसम्म नेतृत्व चयन हुन सकेको छैन् । सहमतिमै नेतृत्व चयनका लागि अधिकतम प्रयास भइरहेको नेताहरुले बताएका छन् । 

जसका कारण नेतृत्व चयनमा ढिलाई भइरहेको नेताहरुको भनाई छ । हिजो भएको बन्द सत्रले सहमतिमै नेतृत्व चयन गर्नुपर्नेमा जोड दिदैं नेतृत्व चयन गर्ने जिम्मा ४ सदस्यीय कार्यदलाई दिएको थियो । उक्त कार्यदल गोपालजिजंग शाहको संयोजकत्वमा बनेको छ । 

कार्यदलमा सभापतिका आकांक्षी प्रेमप्रकाश ओली र कृष्ण रोकाय सहित मानबहादुर नेपाली सदस्य हुनुहुन्छ । हिजो अवेरसम्म सहमतिको प्रयास भएको र आज पनि बिहानै देखि छलफल चलिरहेको बताईएको छ । चुनाव नहुने लगभग निश्चित भएको र सहमतिका लागि अधिकतम प्रयास भइरहेको एक नेताले बताए । 

जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रेमप्रकाश ओली र पार्टीका केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागका सदस्य कृष्ण रोकायको तिव्र आकांक्षा छ । रोकायलाई सन्तुष्ट बनाएर ओलीलाई पुनः जिल्ला सभापतिमा दोहोर्याउने गरी सहमति भइरहेको कांग्रेस स्रोतले जनाएको छ ।। 
 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update