Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्रको वडा सम्मेलनको समिक्षा र आगामी सम्मेलन

रामसुर बुढा ‘विरता’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वडा देखि केन्द्र सम्मको सम्मेलनहरु केही सम्पन्न भएका छन् भने केही सम्मेलनहरु हुने क्रममा रहेका छन । हुनत सम्मेलन र अधिवेशन र महाधिवेशन फरक विषय र महत्व राख्ने गर्दछ । अधिवेशन, महाधिवेशनमा निती निर्माण र नेतृत्व निर्माण गरिन्छ भने सम्मेलनलाई अधिवेशन र महाधिवेशन नहुँदा सम्मको लागि उत्पन्न समस्याहरको समाधानका लागि आवश्यक योजना र कार्यक्रमको निर्णय गर्ने थलोको रुपमा लिने गरिन्छ । दशकौंको बलिदानीपूर्ण संघर्षको नेतृत्व गरी संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्याय सहितको लोकतन्त्र, समाजवाद उन्मुख संविधान जारी गर्ने मूल सुत्रमधार पार्टी ने.क.पा. (माओवादी केन्द्र) आफैमा टुटफूट, देशको आवश्यक्ताले देशका ठुला वामपन्थी पार्टी ने.क.पा एमाले र ने.क.पा. (माओवादी केन्द्र) एकता पछि बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको विगठन पछि आ-आफ्नो पार्टीमा फर्किनु परेको अवस्थामा एकातिर छ भने अर्कोतिर हालको उपलब्धीको सुत्राधार र नेतृत्व गर्ने पार्टीको हैसियतले कार्यन्वयनको जिम्मेवारी र नेतृत्व पनि ने.क.पा. (माओवादी केन्द्र)लाई हुनु पर्छ र लिनु पर्दछ । यस सन्दर्भमा हुन लागेको सम्मेलनहरुले कस्तो निती र नेतृत्व निर्माण गर्नु पर्दछ भन्ने प्रश्नको जवाफ दिनु पर्दछ । हरेक चिजको बलियो आधार कस्तो जग हालिन्छ भन्ने कुराले निर्धारण गरेझै हाम्रो पार्टीको आधार भनेको, जग भनेको तल्लो स्थानीय पार्टी कमिटीहरु हुन । माक्सर्वादको सिर्जनशिल विज्ञानलाई समय सापेक्ष र भूगोल सुहाउँदो निती कम्युनिष्ट आचरण र निष्ठा बोकेको सक्षम नेतृत्व निर्माण गर्न सक्छौ की, सक्दैनौ भने प्रश्नले निर्धारण गर्दछ । तसर्थ हालसम्म भएका वडा सम्मेलनको समिक्षा र आगामी हुने सम्मेलनको निर्धारण गर्न गर्ने छ ।

हरेक हुने सम्मेलनहरुको भूमिका भनेको कस्तो पार्टी वनाउने ? कस्तो विचार निर्माण गर्ने समाज रुपान्तरणको कार्यदिशा के हुनु सक्छ ? त्यसको लागि निती तथा कार्यक्रम निर्माण गर्नु हो । नितीलाई कलात्मक तथा सिर्जनात्मक ढङ्गले  कार्यन्वयन गर्न सक्षम नेतृत्व चयन गर्ने हो । तर निती तथा कार्यक्रमलाई भन्दा नेतृत्व वन्ने कुरामा मात्रै ध्यान गएको पाइन्छ । यतिखेर पार्टीले स्थानीय स्तरका कार्यकर्तालाई बैचारीक रुपमा स्पष्ट रानैतिक विचार राख्न सक्ने बनाउनु पर्दछ । स्पष्ट विचार नहुँदा कार्यकर्ताहरुमा कि त निराशा कि त अराजकताको मात्रा बढ्दै गएको देखिन्छ । समाजलाई मैले के दिए भन्दा मैले के पाए भन्ने बिचारको विकास हुँदै गएको छ । त्यसैले सम्मेलनबाट बैचारिक कार्य योजना बनाउनु पर्दछ । समाजवाद उन्मूख संविधान कार्यन्वयनको लागि विकास र समृद्बीको स्थानीय पार्टीहरुले  स्पष्ट खाका वनाई ने.क.पा. (माओवादी केन्द्र) बाट बिजय भएको स्थानीय सरकारहरु मार्फत प्रभावकारी कार्यन्वयन गरी जनमुखी पार्टीको रुपमा स्थापित गर्नु पर्दछ । केन्द्रिकृत शासन व्यवस्थाले क्षेत्र, भूगोल विशेषको आधारमा विकास र समृद्बीको वास्तविक योजना वनाउन नसक्दा देश संघियतामा गएको हो । अझैपनि आफ्नो क्षेत्र भूगोलको वास्तविक धराटलबाट ठोस योजना पार्टीले बनाउन सकेन भने संघियताको मर्म बमोजिम सरकारले काम गर्न सक्दैन । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताको कस्तो कार्यशैली जीवनशैली हुनुपर्दछ ? यस प्रश्नको जवाफ पनि दिनु पर्ने छ । त्यसका लागि एउटा अनुशासित कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता निर्माणको योजना बनाउनु हरेक कमिटीका सम्मेलनहरुको भूमिका रहन्छ । 

यदी समयमै सम्मेलनले यी प्रश्नको सही जवाफ दिन सकेन भने सबै क्षेत्र भावना समेटिएको एकता बद्ब जुझारु पार्टी बनाउने जनताको विश्वास अनुसार जनताकै दुःख र मर्मको नेतृत्व गर्ने नेता कार्यकर्ता बनाउनु भन्दा आधारभूत जनता छोड्ने, जनताको दुःखसँग खेल्नु भन्दा आफ्नो सुखमा मात्र रमाउने कुरामा तछाड मछाड गर्ने नेतृत्वको विकास हुन सक्ने देखिन्छ । संगठनको संस्थागत निर्णय भन्दा मन मिल्नेहरुसँग गुट समुह बनाई अगाडी बढ्ने खतरा हुन सक्छ । जो पार्ट हित विपरित हो । त्यसका लागी सबै भावना क्षेत्रलाई समेट्दै जुझारु सक्षम नेतृत्व कार्यकर्ताको विकास आजको आवश्यकता हो । त्यसैले कम्युनिष्ट आचार सहित सक्षम नेतृत्वको विकास समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि हरेक कमिटीले आफ्नो क्षेत्र विशेषको लागि सम्मेलनहरुले मूर्त योजना बनाई विकास र समृद्बीको दिशामा अगाडी बढौं । 

लेखक नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा भुमे गाउँपालिका सरकारको अध्यक्ष हुनुहुन्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update