८ औं पार्टी पुनर्गठन दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आयोजना गरेको जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता मुसीकोटमा सुरु भएको छ । प्रतियोगिताको नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढाले उद्घाटन गर्नुभयो । मुसीकोट नगरपालिका १ खलंगाको बराहटाकुरामा अवस्थित कवर्डहलमा जारी प्रतियोगितामा ३१ जोडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले नगद १२ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
त्यस्तै उप विजेताले नगद ८ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनलमा पुग्ने २ जोडीले ३÷३ हजार पुरस्कार पाउने आयोजक नेकपा रुकुम पश्चिमले जनाएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपाका जिल्ला सेक्रेटरी चन्द्र बुढाले पार्टी पुनर्गठन दिवसको ८ औं बार्षिकीको शुभकामना व्यक्त गर्नुभएको थियो । साथै उहाँले पार्टी पुनर्गठनको औचित्य, पछिल्ला विकसित राजनीतिक घटनाक्रम र पार्टीले लिएको क्रान्तिकारी र जनपक्षीय नीतिले पुष्टि हुँदै गइरहेको दाबी गर्नुभएको थियो ।
साथै उहाँले निकट भविष्यमै नेपाली जनताको बर्षौं देखिको माग, इच्छा र चाहाना अनुरुपको वैज्ञानिक समाजवादी व्यवस्था लागु हुने ठोकुवा समेत गर्नुभएको थियो । नेकपाका जिल्ला सचिवालय सदस्य मोतीराम खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष अनिल बुढा, कराते संघका अध्यक्ष चुडामणि पुन, तेक्वान्दो संघका अध्यक्ष भद्र खड्का लगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रमको संचालन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका पार्टीका जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव प्रेमप्रशान्त बोहराले गर्नुभएको थियो ।