नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमको ओली समूहले प्रधानन्त्री केपी शर्मा ओलीको कदमको स्वागत गरेको छ । केन्द्रीय सदस्यहरुको तर्फबाट नारायणकुमार शाहले एक विज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीको यो निर्णय नेपालको संविधान २०७२ को कार्यान्वयनको उच्च शिलशिला भएको उल्लेख गर्नुभएको छ ।
दर्शन, सिद्धान्त, जनजीविका, विकास निर्माण, जनसेवा, शान्ति तथा स्थायित्वका लागि नभई नितान्त प्रधानमन्त्री र पार्टी अध्यक्ष पद प्राप्तीका लागि पार्टी भित्र गुट उपगुट सृजना गरेर पार्टी फुटालेको भन्दै उक्त विज्ञप्तीमा पार्टीको अन्तरिम विधान, विधि र पद्दती विपरीत एकता सिद्धान्त, मूल्य मान्यता र आम पार्टी कार्यकर्ताको भावना विपरीत उक्त कार्य भएको उल्लेख छ । महाधिवेशनबाट डराइरहेकाहरुले र निर्वाचनबाट तर्सिरहेकाहरु नै निर्वाचनबाट भाग्ने उपायको रुपमा संसद विघटनलाई लिइको उक्त विज्ञप्तीमा उल्लेख छ ।
सरकार बनेदेखि नै प्रधानमन्त्रीलाई असजिलो बनाउने, घेरा हाल्ने र सक्ने प्रयासका बाबजुद पनि सरकारले लोकप्रिया काम गरेको दावी विज्ञप्तीमा छ । प्रधानमन्त्री ओलीले पार्टीलाई अस्वस्थ गतिविधिबाट जोगाउन, गुटउपगुटबाट मुक्त गर्न एकीकृत र मजवुत पार्टी बनाउनका लागि संसद विघटन गरी ताजा जनादेशमा जार्ने निर्णय गर्नु देशप्रतिको चिन्ता र चासो भएको उल्लेख विज्ञप्ती मार्फत गरिएको छ । जिल्लामा हुने कुनै पनि सरकार विरोधी कार्यक्रममा नलागी, भ्रममा नपरी निरन्तर पार्टीका पक्षमा लाग्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
यद्यपी विज्ञप्तीमा जिल्लामा संगठनको अवस्था के, कार्यक्रम वा भेलाको बारेमा केही खुलाइएको छैन । नेकपा फुटेपछि रुकुम पश्चिमबाट ओली समूहमा तिर्था गौतम, नारायणकुमार शाह, नन्दराम देवकोटा र विद्यापती रिजाल मनोनित हुनुभएको छ । यस अघिको नेकपाका जिल्ला अध्यक्ष, सचिव, केन्द्रीय सदस्य तथा स्थायी कमिटि सदस्य सबै प्रचण्ड–माधव समूहमै छन् ।