यो समय
हृदयको छातीमा
सन्त्रासको असिना बर्सिरहेछ आधा उज्यालोसित –
बीचबाटोबाटै अपहरित भएर उडेको छ सपनाको सुनौलो रङ
र, ओर्लेर
गन्तव्यको थुम्कोबाट
खसेको छ सुदूर भविष्यको चम्किलो तारा
धपक्कै बलेको घामको जस्केलाबाट
चिहाएर
कतिन्जेल थुनिरहन सक्छ
यो अधुरो बन्दी सभ्यताले
मनको बगैंचाभित्र घुमिरहने रहरका पुतलीहरु !
सधैं विक्षिप्त भएर
आफ्नै जीवनको लयसँग
कतिन्जेल कोरिरहन सक्छ
यी शोषित फूलहरुको यो उज्यालो बिहानीले
सधैं निक्खर औंसीको कविता !
जूनको शीतलताभित्र पनि
किन सधै जलिरहन्छ यो सप्तरङ्गी मुस्कान ?
अक्षरहरुबाटै खोसेर चेतनाको सौन्दर्य
बुजÞुक झैं कुरुप अनुहार बोकेर
किन अझै हिँडिरहन्छ यो तानाशाही समय ?
वर्षौंदेखि
हिउँ झैँ जमेर बसेका आँसुहरुको गहिरो पोखरीबाट
एकदिन
कतै त पक्कै पनि खस्छ होला ।
बुद्ध, गान्धी या क्राइस्टको गाथामा पनि
शीतको थोपाजस्तो
संवेदनाको एक लहर आँसु
यो बन्दी सभ्यताको सेतो पर्दा च्यातेर अवश्य पनि पोखिन्छ होला
एकदिन त
पूरा घामको उज्यालो किरण
फेरिन्छ होला आदिम धर्म र मान्छेको चेतना
कतै न कतै त
अवश्य पनि टाँसिन्छ होला
यो अँध्यारो चेहराभरि खुसीको उज्यालैउज्यालो
त्यतिन्जेलसम्म भत्किएका
यी जम्मै सपनाहरूले के फेरि पुनर्जीवन पाउँछन् ?
उमेश पुन
रुकुम (पश्चिम)