रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ सल्लेमा रहेको आँखा उपचार केन्द्रमा संचालित २ दिने निःशुल्क आँखा उपचार शिविरबाट ६ सय बढीले सेवा लिएका छन् । मंसिर ७ र ८ गते संचालित शिविरबाट जिल्लाका ६ सय ४ जना आँखाका बिरामिले सेवा लिएका हुन् ।
शिविरमा सेवा लिन आएका कुल बिरामि मध्ये १ सय ६८ जनाको निःशुल्क रुपमा मोतियाबिन्दुको अप्रेशन भएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो । अप्रेशन सहित चश्मा र आवश्यक औषधि पनि निःशुल्क रुपमा वितरण गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार १ सय ६२ जनालाई चश्मा तथा औषधि निःशुल्क वितरण गरिएको छ । बाँकी ३ सय ३० जनाको आँखाको निःशुल्क जाँच र औषधि वितरण गरिएको केसीले बताउनुभयो । डाक फाउण्डेशनको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार केन्द्र सल्ले र मुसीकोट नगरपालिकाले संयुक्त रुपमा शिविर आयोजना गरेका हुन् । शिविरमा डाक्टर ज्योती सापकोटाको नेतृत्वमा १४ जना स्वास्थ्यकर्मीको टीम खटिएको थियो ।