Kakhara सबैको खबर सम्पूर्ण खबर
माओवादी केन्द्र रुकुम पश्चिमका चार पालिका सम्मेलन आज
आठबीसकोट नगरपालिका ८ मा निर्वाचित माओवादी केन्द्रको वडा समितिका पदाधिकारी तथा सदस्यहरु ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमका ४ पालिकाका सम्मेलन आज हुँदैछन् । त्रिवेणि गाउँपालिका, सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिकाको सम्मेलन आज हुँदै छ । त्रिवेणि गाउँपालिकाको सिम्रुुतुमा, सानीभेरी गाउँपालिकाको सिम्लीमा र चौरजहारी नगरपालिकाको नार्जिमा सम्मेलन उद्घाटन हुने छ ।

सम्मेलन उद्घाटनका लागि माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा अर्थ मन्त्री जनार्दन शर्मा गृह जिल्ला आइपुग्नु भएको छ । शर्माले सुरुमा त्रिवेणि, त्यसपछि सानीभेरी गाउँपालिकाको सम्मेलन उद्घाटन गर्नुहुने छ । आजै उहाँले चौरजहारी नगरपालिकाको सम्मेलन पनि उद्घाटन गर्नुहुने कार्यक्रम तय गरिएको छ ।

मुसीकोट नगरपालिकाको सम्मेलन भने केन्द्रीय सदस्य वसन्तकुमार शर्माले गर्ने तय भएको छ । पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मंसिर ११ गते सबै पालिकाको सम्मेलन गर्नुपर्ने हो । त्यसैलाई लक्षित गरी रुकुम पश्चिमका ४ पालिकाले आजै सम्मेलन उद्घाटन गर्दैछन् । बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकाको सम्मेलन भने भोली ११ गते उद्घाटन हुने छ ।

बाँफिकोटको छिन्खेत र आठबीसकोटको राडीमा सम्मेलन उद्घाटन हुने छ । ति दुवै पालिकाको सम्मेलन उद्घाटनमा पनि अर्थ मन्त्री शर्मा पुग्नुहुने छ । मन्त्री शर्माले मुसीकोटको कार्यक्रमलाई भने १२ गते सम्बोधन गर्नुहुने छ । मुसीकोट नगरपालिका समितिको घोषणा सभामा उहाँ सहभागि हुने कार्यतालिका छ ।

पालिका सम्मेलन सम्पन्न गर्नका लागि माओवादी केन्द्रले कमाण्डर समेत तोकेको छ । मुसीकोट नगरपालिकामा केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, चौरजहारी नगरपालिकामा कर्णाली प्रदेश सदस्य विशाल शर्मा, आठबीसकोट नगरपालिकामा कर्णाली प्रदेश सदस्य गोर्खबहादुर केसी कमाण्डर तोकिनु भएको छ ।

बाँफिकोट गाउँपालिकामा कर्णाली प्रदेश सदस्य महेन्द्र केसी, सानीभेरी गाउँपालिकामा कर्णाली प्रदेश सदस्य विमला केसी र त्रिवेणि गाउँपालिकामा जिल्ला अध्यक्ष गोपाल शर्मा तोकिनु भएको छ । सबै पालिका सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछन् । माओवादी केन्द्रले यस अघि जिल्लाका सबै टोल तथा वडा सम्मेलन गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update