नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिमले बृहत प्रर्दशन गरेको छ । जिल्ला सदरमुकाम खलंगामा प्रचण्ड–माधव नेपाल समूहको नेकपाले मंगलबार दिउँसो बृहत प्रर्दशन गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रर्दशन गरिएको हो । गाउँ गाउँबाट आएका नेकपाका कार्यकर्ता तथा शुभ चिन्तकहरुले विभिन्न खाले नारा लगाउँदै प्रर्दशन गरेका थिए । नेकपाका केन्द्रीय कमिटिको निर्णय अनुसार नेकपा रुकुम पश्चिमले पनि प्रर्दशन गरेको हो ।
प्रर्दशनका लागि सबै स्थानीय तहको पार्टीले नेता, कार्यकर्तालाई जिल्ला उतारेका थिए । हरेक स्थानीय तहबाट छुट्टाछुट्टै जुलुस सहितको टोली प्रर्दशनमा सहभागि भएको थियो । बागबजारबाट सुरु भएको जुलुसले बजार परिक्रमा गरेको थियो । प्रर्दशनमा सहभागिहरुको दुई वटा कोण सभा भएका छन् । पहिलो सभा बाल मन्दिरमा भएको थियो भने दोस्रो कोण सभा कालिका स्थानमा भएको थियो । पछिल्लो पटक जिल्ला सदरमुकाम पुगेको जुलुस कालिकास्थानको सभामा सहभागि भएको थियो ।
सभालाई सम्बोधन गर्नै बक्ताहरुले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम असंवैधानिक भएको बताएका थिए । संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधि सभा विघटन गर्नु भनेको देशलाई प्रतिगमनतिर धकेल्नु भएको वक्ताहरुको भनाई थियो । देशलाई समृद्धि, विकास र समाजवादतर्फ लैजाने अभिभारालाई बाटोमै छाड्ने प्रधानमन्त्री ओलीको दुष्प्रयास नेपाली जनताले पूरा हुन नदिने उनीहरुले बताएका थिए । दुई तिहाई नजिक रहेको पार्टीका प्रधानमन्त्री ओली अन्तत जनविरोधि निस्किएको टिप्पनी वक्ताहरुको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्माले संविधानको कुनै पनि धारामा नभएको व्यवस्था छ भनेर प्रधानमन्त्री ओलीले नेपाली जनतालाई भ्रम पार्न खोजेको बताउनुभयो । नेपालको संविधान जनताबाट लेखिएको भन्दै शर्माले संविधानको बारेमा जनता जानकार रहेकाले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक हो भनेर जनताले नै फैसला गरिसकेको बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज शेरबहादुर केसीले प्रधानमन्त्री ओली कम्युनिष्ट आचरण र व्यवहारको नभएको टिप्पनी गर्नुभयो । ५ वर्ष प्रधानमन्त्री भएर देशको नेतृत्व गर्नु भन्दा भन्दै पनि असंवैधानिक कदम चाल्ने ओली पछुताउनुपर्ने दिन आउने केसीको भनाई छ । बहुमत केन्द्रीय सदस्य एकातर्फ हुँदा हुँदै नक्कली केन्द्रीय समिति खडा गर्ने कार्य ढाँटछलको तरिका भएको केसीले बताउनुभयो । सभालाई केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज वसन्तकुमार शर्मा, कर्णाली प्रदेश सदस्य विमला केसी, रातो कामी तथा देवी ओलीले सम्बोधन गर्नुभएको थियो । सचिव विमलकुमार पुनले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता गोपाल शर्माले गर्नुभएको थियो ।