अर्थमन्त्री जनार्दन शर्माले अहिलेको परिवर्तन माओवादीका कारण मात्र सम्भव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहनुभएका मन्त्री शर्माले नेकपा माओवादी केन्द्र रुकुम पश्चिम त्रिवेणि गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सिम्रुतुमा उद्घाटन गर्दै माओवादी मात्र परिवर्तनको वाहक रहेको बताउनुभयो ।
देशमा जति परिवर्तन भएका छन् त्यो सबै माओवादीको एजेण्डा भएको र माओवादीका कारण मात्र यो परिवर्तन सम्भव भएको उहाँले दाबी गर्नुभयो । अहिलेको मुख्य कार्यभार हजारौं शहीदको बलिदानी र घाइते अपांगको योगदानबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नु रहेको शर्माले बताउनुभयो ।
ठुलो लडाईबाट बनेको संविधानमा नेपाली जनताका हक अधिकार सुनिश्चित भएको बताउँदै उहाँले उक्त अधिकार कार्यान्वयनका लागि माओवादी केन्द्र लागिपरेको पनि बताउनुभयो । साथै उहाँले विचमा केही समय माओवादी आन्दोलन लरखराएको बताउनुभयो । अव भने माओवादी आन्दोलन थप सुधृढ बन्दै गएको उहाँको दाबी छ ।
यथास्थितिबादीले माओवादीलाई सिध्याउने षड्यन्त्र गरिरहेको भएपनि माओवादी पार्टी अव थप बलियो रुपमा निर्माण हुँदै गएको उहाँले दाबी गर्नुभयो । सो अवसरमा आगामी राष्ट्रिय महाधिवेशनले पार्टीलाई कसरी अगाडी बढाउने र देशलाई कसरी समृद्ध बनाउदै लैजाने भनेर मार्गचित्र निर्माण गर्ने शर्माले जानकारी गराउनुभएको थियो ।