नेपाली कांग्रेस रुकुम पश्चिमले कोषाध्यक्षमा कालुराम खड्का अर्थात मोहविर खड्कालाई मनोनित गरेको छ । शुक्रबार बसेको पहिलो जिल्ला कार्य समिति बैठकले खड्कालाई जिल्लाको कोषाध्यक्षमा सर्वसम्मत मनोनित गरिएको जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । खड्का गत कार्यकालमा पनि कोषाध्यक्ष हुनुहुन्थ्यो ।
गत कार्यकालमा खड्काले गरेको कार्य सम्पादन उत्कृष्ठ रहेको भन्दै कांग्रेसले फेरि पनि खड्कालाई नै कोषाध्यक्षमा मनोनित गरिएको बताएको छ । सातौं जिल्ला अधिवेशनबाट खड्का सर्वसम्मत जिल्ला कार्य समितिमा चयन हुनु भएको थियो । जिल्ला कार्य समितिका सदस्यमध्य खड्कालाई कोषाध्यक्षमा मनोनित गरेको हो ।
२०५२ सालमा नेपाली कांग्रेसको साधारण सदस्य रहेका खड्का २०५२ सालदेखि निरन्तरपार्टीको क्रियाशिल सदस्य हुनुहुन्छ । छैठौं जिल्ला अधिवेशनमा सबै पदमा निर्वाचन हुँदा खड्का निर्विरोध निर्वाचित हुनु भएको थियो । पार्टीप्रतिको लगाव र सक्रियताको कारण नै खड्का सबै नेता तथा कार्यर्ताको रोजाइमा पर्ने गरेको कांग्रेसजन बताउँछन् ।
छैठौं जिल्ला अधिवेशनपछिको कार्यकालमा खड्काले पार्टीका विभिन्न कार्यक्रमको कुशल व्यवस्थापन गरेको, पार्टी कार्यालय भवन निर्माणमा मुख्य जिम्मेवारी पूरा गरेको निष्कर्ष सहित खड्कालाई कोषाध्यक्षमा दोहोर्याइएको कांग्रेसले जनाएको छ ।