नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले माओवादीमा नयाँ विचार आवश्यक रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम चौरजहारी नगर कमिटीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता शर्माले अहिलेको देशको मागलाई सम्बोधन गर्न नयाँ विचारको आवश्यकता परेको बताउनुभएको हो ।
‘माओवादीले अहिलेसम्म लिएको विचारले अहिलेसम्मको परिवर्तन आएको छ, अव समय फेरिएको छ, जनताका माग फरक रुपमा आईरहेका छन्, अवको समयलाई सम्बोधन गर्नका लागि हाम्रो पार्टीमा नयाँ विचारको आवश्कयता छ, उहाँले भन्नुभयो ।’ पार्टी अहिले नयाँ विचारको खोजीमा रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
‘हामी पार्टी भित्र नयाँ विचारको आवश्यकता महशुस गरेर उक्त विचार निर्माणको अभियानमा छौं, उहाँले भन्नुभयो हामी टोल हुँदै राष्ट्रिय महाधिवेशनको तयारीमा छौं, राष्ट्रिय महाधिवेशनले माओवादी आन्दोलनलाई थप सशक्त रुपमा अगाडि बढाउने र देशलाई समाजवादको पथमा अगाडि बढाउने गरी नयाँ विचार निर्माण गर्दै छौं ।’
समयको माग अनुसार जनताका आवश्यकताहरु परिमार्जन हुँदै गइरहेको र त्यसलाई समेट्नका लागि समय अनुसार विचारलाई पनि संशोधन गर्दै लैजानुपर्नेमा माओवादीले त्यसो गर्न नसक्दा माओवादी आन्दोलन कमजोर हुँदै गएको उहाँले स्विकार गर्नुभयो । अर्थमन्त्री समेत रहनुभएका नेता शर्माले जनतालाई धनाड्य बनाउने गरी लागि परेको बताउनुभयो ।
उद्योग, कलकारखानी देखि कृषि र पशुपालनबाट जनतालाई सम्पन्न बनाउने अभियान रुकुमबाट थालनी गरिएको उहाँले दाबी गर्नुभयो । हिजो क्रान्तिको उद्गमथलोका रुपमा रहेको रुकुमबाट अव समाजवादको यात्रा सुरु गर्ने अभियानमा आफुहरु रहेको उहाँको भनाई थियो ।