Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रधानमन्त्री ओली व्यवहारत व्यवस्था विरोधी : नेता पुन
विरोध प्रर्दशनमा सहभागिहरु ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदम सच्चिनुको विकल्प नभएको बताउनुभएको छ । जनभावना, पार्टी, नेता, कार्यकर्ताको भावना विपरित भएको कदमले देशलाई समेत असजिलो बनाएकाले यो कदम सच्चिने ठाउँहरु प्रशस्त रहेको बताउनुभयो । अदालतमा विचाराधिन रहेकाकाले यसबाटै प्रतिनिधि सभा पुनस्थपना हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था नभएको कदम चालेर गम्भिर त्रुटी गरेकाले यसलाई अदालतले सच्च्याउने विश्वास नेता पुनको छ । अदालतबाट पनि त्यसो हुन नसके सडकबाटै भएपनि गलत कदम सच्च्याएर अघि बढ्नुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमका विरुद्ध नेकपा प्रचण्ड–माधव समूहले रुकुम पूर्वको रुकुमकोटमा आयोजना गरेको विरोध प्रर्दशनलाई सम्बोधन गर्दै नेता पुनले केपी ओली नसच्चिएको बताउनुभयो । गणतन्त्र, संघीयताका लागि आन्दोलन भइरहेका बेला बयलगाडा चढेर अमेरिका पुगिन्न भनेर टिप्पनी गरेका ओली पछिल्लो समय सच्चिएको मानिएपनि व्यवहारत व्यवस्था विरोधी देखिएको टिप्पनी नेता पुनले गर्नुभयो ।

पछिल्लो कदमले ओली हरियो घाँसमुनि लुकेको विषालु सर्प भएको पुष्टि भएको समेत नेता पुनको आरोप छ । सभालाई सम्बोधन गर्दै नेकपाका नेता भिउमान घर्तीले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएकाले यसको प्रतिरोध हरेक क्षेत्रबाट हुनुपर्ने बताउनुभयो । लामो संघर्षपछि आएको व्यवस्थालाई नै असजिलो हुने गरी गरिएको संसद विघटनले देशको हित नगर्ने भएकाले सम्पूर्ण देशभक्तहरु एकजुट भएर यस कदमको कडा प्रतिवाद गर्नुपर्नेमा घर्तीले जोड दिनुभयो । जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य जीवन केसीले गर्नुभएको थियो । कोण सभा अघि सुरु भएको विरोध जुलुसले बजार परिक्रमा गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update