रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ मा रहेको सरस्वति मावि सल्लेमा ‘प्रजित रावल’ अक्षय कोष स्थापना गरिएको छ । स्वर्गिय रावलको परिवारले बिद्यालयमा ५१ हजार ५ सय ५ रुपैंयाको अक्षय कोष स्थापना गरेको हो । बिद्यालयमा अध्यापनरत स्वर्गिय रावलकी श्रीमति लक्ष्मी रावलको बिदाईको अवसरमा शुक्रबार बिद्यालयमा अक्षय कोष खडा गरिएको हो । आफ्नो बिदाईको अवसरमा श्रीमति लक्ष्मी रावलले आफ्ना स्वर्गिय श्रीमानको नाममा बिद्यालयमा अक्षयकोष खडा गर्ने घोषणा गर्नुभएको थियो ।
घोषणा संगै अक्षयकोषका लागि ५१ हजार ५ सय ५ रुपैंयाको चेक रावलले बिद्यालयका प्रध्यानाध्यापक खम्बुसिंह थापालाई हस्तान्तरण गर्नुभयो । मुसीकोटको त्रिभुवन जनता माविमा लामो समय शिक्षक हुँदै सहायक प्रध्यानाध्यापक र प्रध्यानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका स्वर्गिय प्रजित रावलका नाममा स्थापना गरिएको अक्षयकोषमा रहेको रकमको ब्याजबाट प्रत्येक वर्ष गरिब तथा जेहेनदार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने सरस्वति माविले जनाएको छ ।
बिद्यालयमा लामो समयसम्म सेवा गरेर बिदाई हुने क्रममा शिक्षिका रावलले बिद्यालयमा कक्षा १ देखि १० कक्षासम्म अध्यनरत १÷१ जना अनुशाशित तथा जेहेनदार बिद्यार्थीलाई शैक्षिक सामग्रि समेत प्रदान गरेको बिद्यालयका शिक्षक टिकाराम बिष्टले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर थापा र स्थानीय समाजसेवि तथा विद्यालयका संस्थापक सदस्य सार्के बुढाथोकी लगायत शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।