Kakhara सबैको खबर सम्पूर्ण खबर
अव प्रत्येक बिद्यालयले उत्पादनमुलक व्यवसाय पनि संचालन गर्नुपर्छः अर्थमन्त्री शर्मा 

अर्थमन्त्री जनार्दन शर्माले बिद्यार्थीहरुले अब पढ्दै कमाउनुपर्ने बताउनुभएको छ । अहिलेको शिक्षा प्रणालीबाट शैक्षिक वेरोजगार उत्पादन हुने गरेको भन्दै अब बिद्यार्थीले बिद्यालयमा पढुञ्जेलसम्म पढ्दै कमाउदै गर्ने र पढिसक्ने बित्तिकै आफुले चाहेको व्यवशाय गरेर रोजगार हुनसक्नुपर्ने उहाँले बताउनुभयो । 

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम मुसीकोट नगरपालिकाको नव निर्वाचित नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले प्रत्येक बिद्यालयले अब छुट्टै व्यवशाय संचालन गर्नुपर्ने बताउनुभयो । यसका लागि संघीय सरकारले बजेट सहितको कार्यक्रमको व्यवस्था गरेको उहाँले जानकारी गराउनुभयो । 

‘अब पढ्ने मात्र होइन बिद्यार्थीले आफुले चाहेको सीप सिक्न पाउनुपर्छ, यसका लागि प्रत्येक बिद्यालयमा छुट्टा छुट्टै व्यवशायको सुरुवात हुनुपर्छ, उहाँले भन्नुभयो–बिद्यालयको पढाई सक्ने बित्तिकै प्रत्येक बिद्यार्थीहरुले आफुले चाहेको व्यवशाय गर्न सकुन् ।’

यसको कार्यान्वयन गर्न उहाँले स्थानीय सरकारहरुलाई आग्रह समेत गर्नुभयो । ‘अव कुनै बिद्यालयले माछा पालन सुरु गर्न सक्ला, कतै कृषि फर्म होला, कतै कुखुरा पालन गर्न सकिएला, उहाँले थप्नुभयो–बिद्यार्थीहरुलाई कुनै न कुनै खालको सीप सिकाउन अव प्रत्येक बिद्यालयमा छुट्टा छुट्टै उत्पादनको सुरुवात हुनुपर्छ ।’

साथै उहाँले जिल्लाको समग्र विकासका लागि थप बजेट र योजनाको व्यवस्था गरिएको बताउनुभयो । दाङको अमेलियादेखि सुरुवात भई मुसीकोटको सल्लेसम्म रहेको राप्ती राजमार्गलाई बिस्तार गरी जाजरकोटको छरेबगरसम्म भेरीकरिडोरमा मिसाउने गरी योजना अघि बढेको उहाँको भनाई छ । 

यो राजमार्गको स्तरोन्नतिका लागि बजेटको व्यवस्था हुने पनि उहाँले बताउनुभयो । विद्युत विस्तार, बसपार्क निर्माण, स्थानीय सडकको स्तरवृद्धि लगायतका योजनाका लागि बजेटको व्यवस्थापन समेत भएको उहाँले सो अवसरमा जानकारी गराउनुभएको थियो । 


 

प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update