नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रुकुम पुर्व सिस्ने गाउँपालिकाको पालिका सम्मेलन सम्पन्न भएको छ । २ दिनसम्म चलेको सम्मेलन सर्वसम्मत नयाँ गाउँ समिति चयन गर्दै सम्पन्न भएको हो । माओवादी केन्द्रको निर्णय अनुसार देशभर एकैसाथ हुनुपर्ने पालिका सम्मेलन सिस्ने गाउँपालिका पनि यही मंसिर ११ गते शनिवार उद्घाटन गरिएको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
सबैलाई समेटेर मनसराम खड्का भिक्टरको अध्यक्षतामा ६ जना सदस्य पछि थप्ने गरि ५५ सदस्यीय नयाँ गाउँ समिति गठन गरिएको रेग्मीले बताउनुभयो । जसको उपाध्यक्षमा गोबरधन बुढामगर, शान्तेबहादुर बिक र भद्री थापा रहनुभएको छ । त्यस्तै सचिवमा कर्णबहादुर खत्री, सह सचिवमा रेवन खड्का र कोषाध्यक्षमा कलबहादुर खड्का चयन भएको नेकपा माओवादी केन्द्र सिस्ने गाउपालिकाले जनाएको छ । सम्मेलनको उद्घाटन पुर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गनेशमान पुनले गर्नुभएको थियो ।