Kakhara सबैको खबर सम्पूर्ण खबर
यमुना नन्द नमुना माविमा कम्प्युटर ल्याब 
बिद्यालयमा रहेकाे ल्याबमा ल्यापटप चलाउदै बिद्यार्थीहरू ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ मा रहेको यमुना नन्द नमुना मावि शेरिगाउँमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । बिद्यालयमा रहेको ल्याबको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नुभएको छ । नगरपालिकाको सहयोगमा बिद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । जसका लागि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाबाट ६ लाख ५० हजार खर्च भएको छ । जुन रकमबाट १६ वटा ल्यापटप खरिद गरिएको बिद्यालयका प्रध्यानाध्यापक दामोदर पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार ल्यापटप खरिदमा ५ लाख खर्च भएको छ भने १ लाख ५० हजार डेकोरेशनमा खर्च भएको हो । शैक्षिक गुणस्तर सुधृढिकरण र कार्यसम्पादनमा आधारित अनुदान अन्तरगत कम्प्युटर ल्याब स्थापनाका लागि बिद्यालयमा रकम गएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बिनाराम खड्काले बताउनुभयो । 

बिद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएपछि कक्षा ६–१० का बिद्यार्थीहरु लाभान्वित भएको प्रध्यानाध्यापक पौडेलले बताउनुभयो । कक्षा ६–८ मा अनिवार्य विषयका रुपमा कम्प्युटर पढाई भइरहेको र कक्षा ८–१० मा ऐच्छिक रुपमा पढाई भइरहेको उहाँको भनाई छ । ल्याबले कम्प्युटर पढाईमा सजिलो भएको तथा डेढ सय बढी बिद्यार्थी लाभान्वित भएको बिद्यालयले जनाएको छ । 

यसैविच बिद्यालयले तीन वर्षे डिप्लोमा कम्प्युटर पठन पाठन सुरु गर्ने योजना बनाएको छ । यस योजनाका बारेमा अर्थमन्त्री शर्मालाई जानकारी गराएको र सहयोगका लागि आग्रह गरिएको प्रध्यानाध्यापक पौडेलले बताउनुभयो । अर्थमन्त्री शर्माले यसमा सहयोग गर्ने वचन दिएको उहाँको भनाई छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update