सबै सूचकमा आठबीसकोट नगरपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनामा पछाडि छ । जिल्लाको झण्डै आधा भूभाग ओगटेको यो नगरपालिकाको एउटा वडामा अझैपनि सडक सञ्जाल विस्तार हुन बाँकी छ । सडक, टेलिफोन, बिद्युत, शिक्षा, स्वास्थ्यको विकासका लागि नगरपालिकाले संघर्ष गरिरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आउने बेलाको तुलनामा हाल भने नगरपालिकाले विकासमा फड्को मार्न थालेको छ । जनप्रतिनिधि निर्वाचित भएको करिब डेढ वर्षमा नगर अस्पताल संचालन गरेर नगरपालिका जिल्लामा अस्पताल संचालन गर्ने पहिलो स्थानीय तह बन्यो । हाल जिल्लाका ४ वटा स्थानीय तहका आफ्नै अस्पताल छन् ।
२०७५ को असोज देखि सेवा सुरु गरेको नगर अस्पतालको सुबिधा सम्पन्न भवन निर्माण भएको छ । एक स्थानीय बिद्यालय र साविकको स्वास्थ्य चौकीको भवनबाट अस्पताल संचालन गरिरहको नगरपालिकाले अहिले भने लिफ्ट सहितको सुविधा सम्पन्न अस्ताल भवन निर्माण गरेको छ । भवन निर्माण सम्पन्न भएसंगै मंसिर ११ गते अर्थमन्त्री जनार्दन शर्माले अस्पताल भवनको उद्घाटन गर्नुभयो । कोरोना भाईरसको संक्रमण रोक्न जारी गरिएको लकडाउनका विचमा पनि काम नरोकि अस्पतालको भवन निर्माण गरिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताउनुभयो ।
जसका कारण भने अनुसार नै भवन निर्माण भएको उहाँको भनाई छ । यो साढे ३ तलाको यो भवन झण्डै साढे ६ करोडमा निर्माण सकिएको उहाँले बताउनुभयो । भवनमा २५ श्यैयाको अस्पताल सञ्चालनका लागि प्राप्त कोठाहरु रहेको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार उक्त अस्पताल भवन लिफ्ट सहितको रहेको छ । लिफ्ट जडानको काम भने बाँकी रहेको छ । बिरामीलाई सजिलै तल माथि गराउन सजिलो होस र अन्य उपकरणहरु पनि तल माथि पार्न सजिलो होस भनेर लिफ्टको समेत व्यवस्था गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।
भवन निर्माणका लागि तीन वटै तहको बजेट परिचालन भएको नगरपालिकाले जनाएको छ । भवन निर्माणका लागि कुल ६ करोड २७ लाखमा सम्झौता भएकामा स्थानीय, प्रदेश र संघ सरकारको बजेट परिचालन भएको नगरपालिकाको भनाई छ । थप बजेट समेत आवश्यकता परेको र नगरपालिकाले बजेट माग गरि पठाएको छ ।