नेकपा माओवादी केन्द्र राष्ट्रिय महाधिवेशनको तयारी छ । जसको तयारी स्वरुप माओवादीले टोल, वडा हुँदै पालिका सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरिसकेको छ । रुकुम पश्चिमका सबै टोल, ७३ वटै वडा र ६ वटै स्थानीय तहमा पनि माओवादीको नेतृत्व छनौट भइसकेको छ । एक वडा बाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाका ६ वडा स्थानीय तह र ७३ वडा मध्ये जम्मा एउटा समितिमा मात्र महिलाको नेतृत्व भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा मात्र महिलाले नेतृत्व पाएकी छन् । त्यो पनि चुनाव लडेर । कमला बुढा पुनले चुनाव लडेर नेतृत्व लिन सफल हुनुभयो ।
त्यो बाहेक अन्यत्र नत पार्टीले मौका दियो नत महिलाहरु खरो रुपमा उत्रिएर नेतृत्व लिन सफल भए । सहमति जुट्न नसकेपछि मंसिर ४ गते भएको वडा सम्मेलनबाट नेतृत्व चयन गर्न चुनाव भएको थियो । चुनावमा अध्यक्षका प्रत्यासि बने घमण्ड खड्का र कमला बुढा पुन । कुल २ सय ४१ प्रतिनिधि रहेकामा जम्मा १ सय १४ मत खस्यो । ४ मत बदर हुँदा कमलाको पक्षमा ७० मत खस्यो भने प्रतिस्पर्धी घमण्डको पक्षमा झण्डै आधा मत कम ४० मत पर्यो । साँझ मतदान भएका कारण सबै प्रतिनिधिहरु मतदानमा सहभागी हुन पाएनन् । कमला जिल्लामा माओवादीको वडा र पालिका तहको नेतृत्व गर्ने एक्लो महिला हुनुहुन्छ ।
कसैले त्यत्तिकै दिदैन लड्नै पर्दो रैछ
चुनाव लडेर वडाको नेतृत्वमा आउनुभएकी कमला ३३ वर्षिकी हुनुभयो । क्षमता भयो भने नेतृत्वमा आउन सकिदो रैछ भन्ने उहाँलाई लागेको छ । ‘क्षमता त हुनै पर्यो, अनि अर्को कुरा क्षमता मात्र भयो तर लड्न सकिएन भने पनि कसैले नेतृत्व दिने रैनछ, उहाँले भन्नुभयो–आफु नलडि नेतृत्वमा पुग्न नसकिदो रैछ ।’ संविधानमै समावेशि प्रतिनिधित्वको व्यवस्था भएपनि महिलाहरु नेतृत्व गर्ने स्थानमा भने अझैपनि पुग्न नसक्नु दुर्भाग्यपूर्ण रहेको उहाँको भनाई छ ।
‘महिलाको प्रतिनिधित्व त भएको छ, तर महिलाहरु अझैपनि नेतृत्व गर्ने स्थानसम्म पुग्न सकेका छैनन्, यसमा सबैले गम्भिर समिक्षा गर्न जरुरी छ र महिला दिदीबहिनीहरु पनि कस्सिनुपर्छ, उहाँले भन्नुभयो ।’ कमला यसअघि नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको पनि वडा अध्यक्ष हुनुहुन्थ्यो । सर्वोच्च अदालतको फैसला अनुसार माओवादी र एमाले साविककै अवस्थामा फर्किएपछि उहाँ माओवादी केन्द्र मुसीकोट ४ को वडा अध्यक्ष नै बन्नुभएको थियो ।