रुकुम पश्चिममा पहिलो पटक विच भलिबल हुने भएको छ । जिल्ला भलिबल संघ रुकुम पश्चिमले पुष १ गतेबाट जिल्ला सदरमुकाम मुसीकोट खलंगाको बराहटाकुरामा महिला पुरुष विच भलिबल प्रतियोगिता संचालन गर्ने भएको हो । समुन्द्र किनारामा एक टिमबाट २ जनाले खेल्ने भलिबललाई बिच भलिबल भनिन्छ । जिल्लामा यो खेलको विकास गर्ने उदे्श्यका साथ पहिलो पटक महिला पुरुष खुला विच भलिबल प्रतियोगिता संचालन गर्न लागिएको जिल्ला भलिबल संघका सचिव पवन शाहीले जानकारी दिनुभयो ।
जिल्लामा भलिबल खेल निकै लोकप्रिय छ । तर विच भलिबलका बारेमा भने धेरैलाई थाहा हुन नसकेकाले यस खेलका बारेमा जानकारी गराउने र यस खेलको विकासका लागि खेल आयोजना गरिएको शाहीले बताउनुभयो । राष्ट्रिय स्तरमा विच भलिबल खेल आयोजना हुने भएपनि अहिलेसम्म जिल्लाबाट खेलाडि उत्पादन हुन सकेका छैनन् । बालुवा राखेर कोर्ट निर्माण गरेर खेल खेलाईने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिता अन्तरगत पुरुष तर्फको विजेता जोडिले नगद ५० हजार, उप–विजेताले नगद ३० हजार र सेमिफाईनलमा पुग्ने २ जोडिले १०÷१० हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै महिला तर्फको विजेता जोडिले नगद ३० हजार पाउने छ । उप–विजेताले २० हजार प्राप्त गर्दा सेमिफाईनलमा पुग्ने २ जोडिले समान १०÷१० हजार पुरस्कार पाउने आयोजक जिल्ला भलिबल संघले जनाएको छ ।