Kakhara सबैको खबर सम्पूर्ण खबर
झण्डै १६ करोडमा रुकुम पूर्व जिल्ला अस्पतालको भवन बन्दै

रुकुम पूर्व जिल्ला अस्पतालको आफ्नै भवन हुने भएको छ । ५० शैय्या अस्पताल निर्माण कार्य सुरु भएको छ । यसको शिलान्यास समेत भएको छ । सिस्ने गाउँपालिका ५, रुकुमकोटमा अस्पताल बनाउन थालिएको हो । सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा, अस्पताल विकास समितिकी अध्यक्ष फत्तेकुमारी ओली लगायतले अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

हाल अस्पताल सञ्चालन भइरहेको भवन नजिकै भवन बन्न लागेको हो । १५ करोड ५७ लाख ४५ हजार ९ सय २९ रुपैयाँमा भवन निर्माण गरिने छ । लुम्बिनी प्रदेश सरकारको बजेटबाट अस्पताल भवन बन्न लागेको हो । खड्का–पिएस जेभीले अस्पताल निर्माणको जिम्मा लिएको छ ।

२०८० साउन २० गते भित्रै अस्पताल बनाइसक्ने गरी सम्झौता भएको छ । निर्माण कम्पनीले गत जेठ महिनादेखि अस्पताल निर्माण थालेको थियो । जमिन सम्याउने तथा अरु आधारभुत काम सकेपछि अस्पताल भवनको शिलान्यास गरिएको हो । भवन बनेपछि जिल्ला अस्पताल आउने विरामीलाई सजिलो हुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update