कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विकास र समृद्धिको लागि कँही कतै अल्झनु नपर्ने बताउनुभएको छ । देशमा विकसित पछिल्लो घटनाक्रमप्रति लक्षित गर्दै मन्त्री केसीले सुरु वात गरिएका कामकाजको साथसाथै आन्दोलन र विरोधलाई अघि बढाउन सकिने बताउनुभयो । कृषि विकास कार्यालयले आयोजना गरेको माटो परीक्षण शिविर उद्घाटन गर्दै मन्त्री केसीले प्रदेश सरकारले समग्र प्रदेशको समृद्धिका लागि आधारभुत खाका कोरेर अघि बढिरहेको बताउनुभयो ।
कृषि, पशु तथा अरु विभिन्न क्षेत्रमा आधारभुत काम भएको र त्यसलाई निरन्तरता दिनुको विकल्प नभएको भनाई पनि उहाँको छ । प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएकी मन्त्री केसीले केही समय चल्ने राजनीति घटनाक्रमसँगसँगै अघि बढ्नुपर्ने बताउनुभयो । सरकार बन्छ, या बन्दैन सरकारमा को हुन्छ त्यो महत्वपूर्ण नभइ थालनी गरिएका कामकाजलाई पूर्णता दिनु महत्वपूर्ण भएको उहाँले बताउनुभयो । कर्णाली प्रदेशमै पहिलो पटक माटो परीक्षण शिविर आयोजना गरिएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री केसीले परीक्षणपछि आउने नतिजा अनुसार खेतीपाती गर्ने र बालीनाली लगाएमात्रै यसको औचित्य पुष्टि हुने बताउनुभयो । कृषि उत्पादन र उत्पादकत्व बढाउनका लागि माटो परीक्षण महत्वपूर्ण हुने भनाई उहाँको छ ।
माटो परीक्षण शिविर उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले माटोको अवस्थाबारे जानकारी लिएर मात्रै खेतीपाती गर्दा उत्तम हुने भएकाले माटो परीक्षण शिविर आयोजना गरिएको बताउनुभयो । माटो परीक्षण नै नगरेर गरिने खेतीपातीका कारण किसानको लगानी डुब्ने खतरा औल्याउँदै प्रमुख शर्माले कुन माटोमा कुन खेती लाउने भनेर निक्र्योल गर्न माटो परीक्षण गरिएको बताउनुभयो । माटो परीक्षणपछि माटोको अवस्था अनुसार नै खेतीपाती हुने र त्यसबाट किसानले मनग्यै लाभ लिन सक्ने भनाई उहाँको छ । झण्डै एक महिना लाएर जिल्लाभरको माटोको नमूना परीक्षण हुनेछ ।