रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले स्थानीय पाठ्क्रम निर्माण गर्ने भएको छ । नगरपालिकाले राष्ट्रिय पाठ्क्रम प्रारुप २०७६ वमोजिम कक्षा १–८ का लागि मुसीकोटको सेरोफेरो नामक स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको छ । जसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २ लाख बजेट विनियोजन गरेको छ । पाठ्यक्रम निर्माणको जिम्मा नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई दिईएको छ । नगरपालिकाका शिक्षा अधिकृत लालसिंह खड्काका अनुसार पाठ्यक्रम निर्माणको प्रक्रिया सुरु भइसकेको छ ।
अहिले नगरपालिका भित्रका शिक्षक तथा सरोकारवालाहरु विचमा गोष्ठी तथा कार्यशालाहरु संचालन भइरहेको उहाँले बताउनुभयो । पौष मसान्तसम्ममा सक्ने गरी पाठ्क्रम निर्माणका काम चलिरहेको खड्काले बताउनुभयो । पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक निर्माण हुने छ । पाठ्यक्रम निर्माण सकिएपछि केही बिद्यालयमा परीक्षणका रुपमा पढाई सुरु गरिने तर अर्को शैक्षिक सत्र देखि भने नगरपालिका भित्रका सबै ६५ वटा सामुदायिक तथा संस्थागत बिद्यालयमा पढाई हुने शिक्षा अधिकृत खड्काको भनाई छ ।
कानुनमा वार्षिक १ सय २८ कार्यघण्टा स्थानीय पाठ्यपुस्तक पढाउनुपर्ने व्यवस्था छ । तर धेरै स्थानीय तहको आफ्नै पाठ्यपुस्तक छैन् । स्थानीय विषयवस्तु बारे बिद्यार्थीहरुलाई जानकारी गराउने र बिद्यार्थीहरुलाई नैतिक ज्ञान सिकाउने उद्ेश्यले स्थानीय पाठयपुस्तक लागु गर्नुपर्ने व्यवस्था छ । तयार पार्न लागिएको पाठ्यक्रममा मुसीकोटको भूगोल, जनसंख्या, धर्म संस्कृति, चाल चलन, रितिरिवाज, राजनीति, आर्थिक, सामाजिक, पर्यटन, पूरातत्व लगायतका स्थानीय सम्पूर्ण विषयवस्तुबारेको जानकारी समेटिने नगरपालिकाले जनाएको छ ।
यसअघि नै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने तयारी भएपनि कोरोना लगायतका कारणले ढिलाई हुँदै आएको नगरपालिकाको भनाई छ ।