Kakhara सबैको खबर सम्पूर्ण खबर
पुल बनाउनु सट्टा धागो मात्रै हालेर भाग्ने तयारीमा ठेकेदार कम्पनी

रुकुम पश्चिम स्थित सानीभेरी नदीमा पुल बनाउने जिम्मा लिएको एक ठेकेदार कम्पनी धागो मात्रै हालेर भाग्ने तयारीमा छ । सानीभेरी गाउँपालिकाको २ र ४ नम्बर वडा जोड्ने गरी सानीभेरी नदीमाथी मोटरेबल पुल निर्माणको ठेक्का लिएको सपना–शैलुङ जेभी काम नगरी भाग्न थालेको छ । फल्लेबगर–मेगा मोटरेबल पुल निर्माण गर्ने भनि उक्त कम्पनीले २०७१ सालमै सडक डिभिजन कार्यालय चौरजहारीसित सम्झौता गरेको थियो । तर सम्झौता भएको ७ वर्ष पूरा भइसक्दा पनि पुल निर्माण त भएन नै पुल निर्माणको सामान्य काम पनि सुरु भएको छैन ।

काम गर्न भनि पछिल्लो पटक ल्याइएका मेशिन फिर्ता लैजाने तयारीमा ठेकेदार कम्पनी छ । मेशिन लैजान भनेर ठेकेदार कम्पनीका मान्छेहरुले तयारी गरेको स्थानीय अपिल पुनले जानकारी दिनुभयो । पुल बनाउनुपर्ने ठाउँमा धागो हालेर मात्रै ठेकेदार कम्पनी भाग्न लागेको उहाँले बताउनुभयो । अब काम गर्न सकिन्न भनेर साइडमा रहेको सामग्री उठाएर लैजाने गरी तयारी गरिएको पुनले बताउनुभयो ।

पुल बनिसक्ने बेला सम्म पुल निर्माणको कार्य नै सुरु नगरी ठेकेदार कम्पनी जान थालेपछि पुल नबन्ने चिन्ता बढेको अर्का स्थानीय सम्झना पुनले बताउनुभयो । झण्डै १३ करोडमा उक्त पुल बनाउने सम्झौता छ । स्थानीयले पुल नबन्ने भयो भनेर नेता तथा सबैतिर हारगुहार गरिरहेका छन् तर कसैले त्यसको सुनुवाई नगरेको गुनासो पनि आइरहेको छ । निर्माणको जिम्मा लिएको उक्त ठेकेदार कम्पनी कालो सूचिमा पर्ने अन्तिम चरणमा छ ।

सोही सूचिबाट हट्नका लागि मात्रै साइडमा केही समय ति मेशिन ल्याइएको स्थानीयले बताएका छन् । लामो समय अलपत्र रहेको यो कार्य सम्पन्न गर्न भन्दै गत दसैं अघि मात्र उक्त मेशिन साइडमा ल्याइएको थियो । सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले पुल निर्माणका लागि सम्बन्धित ठाउँमा ताकेता गरिरहेको बताउनुभयो । ‘यसमा हामीले पहिल्यैदेखि ताकेता गरिरहेका छौं,’ अध्यक्ष पुनले भन्नुभयो, ‘तय भइसकेको विकासे योजना सम्पन्न हुन्छ भनेर लागिएको छ ।’ ठेकेदारकै लापरबाहीले १८ महिनामा बन्नुपर्ने पुल ७ वर्षसम्म नबनेको अध्यक्ष पुनले बताउनुभयो । 

प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update