स्वास्थ्य क्षेत्रको सुधारका लागि बारम्बार अनशन बसेर तथा दुर्गम क्षेत्रमा पुगि सेवा दिएर चर्चामा रहनुभएका डाक्टर गोबिन्द केसी जिल्ला अस्पताल रुकुम पश्चिममा पुग्नुभएको छ । बुधबार रुकुम पूर्वबाट रुकुम पश्चिम पुग्नुभएका हाडजोर्नी विशेषज्ञ डाक्टर केसीले आजबाट जिल्ला अस्पतालमा बिरामीहरुलाई सेवा दिन थाल्नुभएको छ ।
उहाँ एक हप्तासम्म जिल्ला अस्पताल रुकुम पश्चिममा रहने अस्पताल स्रोतले जनाएको छ । उहाँले जिल्ला अस्पतालको ओपिडीमा विरामीको उपचार सुरु गर्नु भएको छ । डाक्टर केसी आएको खवर पाएपछि हाडजोर्नीको समस्या भएका बिरामीहरु अस्पताल पुगेको अस्पतालले जनाएको छ ।
हाडजोर्नीको समस्या भएका बिरामीहरु उपचारका लागि आईरहेको जिल्ला अस्पतालका डाक्टर भिमकान्त जैसीले जानकारी दिनुभयो । यो अवसरमा हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीलाई मौकाको फाईदा उठाउन अस्पतालले आग्रह गरेको छ ।
दुर्गममा विरामीको उपचार गर्दै हिड्ने डाक्टर केसी दुई हप्ता रुकुम पूर्व जिल्ला अस्पतालमा उपचार गरेर यहाँ आउनु भएको हो । यहाँ उपचार गरेपछि सल्यान जिल्ला अस्पताल जाने योजना रहेको डाक्टर केसीले बताउनुभयो ।
आफै औषधी बोकेर, आफ्नै खर्चमा डाक्टर केसी विरामीको उपचारमा हिडिरहनुहुन्छ । नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै डाक्टर केसीले बेला बेला अनशन गर्ने, सरकारको ध्यानाकर्षण गराउने जस्ता काम पनि गर्दै आउनुभएको छ ।