माटो परीक्षण शिविर सुरु भएको छ । कृषि विकास कार्यालयले बुधबारबाट जिल्ला सदरमुकाम खलंगामै माटो परीक्षण सुरु गरेको हो । जिल्ला भरको माटो संकलन गरी परीक्षण सुरु गरिएको हो । कर्णाली प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले माटो परीक्षण शिविरको उद्घाटन गर्नुभएको थियो ।
करिब १ महिना चल्ने शिविरुमा एक हजार ६ सय माटोको नमूना परीक्षण हुने कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । जिल्लाका ७३ वडाबाट माटोको नमूना संकलन गरी ल्याइएको छ । हरेक वडाबाट २० ठाउँको माटोको नमूना संकलन गरिएको निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।
जिल्लाको माटोको अवस्था के छ जानकारी राख्ने र जिल्लाको माटोको प्रोफाइल बनाउने उद्देश्यले माटो परीक्षण शिविर आयोजना गरिएको कार्यालय प्रमुख केसीले बताउनुभयो । माटो परीक्षणपछि आउने नतिजाको आधारभा खेतीपाती गर्न तथा फलफूल लगाउनका लागि सिफारिस समेत गरिने छ ।
कृषि विकास कार्यालयको आयोजनामा एकीकृत प्रयोगशाला सुर्खेतको टोलीले माटो परीक्षण गरिरहेको छ । निमित्त सुरेश चौधरी नेतृत्वको टोली माटो परीक्षणमा लागिरहेको छ । निर्देशक चौधरीले जिल्लामो माग अनुसार माटो परीक्षण सुरु गरिएको बताउनुभयो । परीक्षणको क्रममा माटो कता गैरहेको छ भन्ने मुख्य अध्ययन हुने उहाँको भनाई छ ।
माटो अम्लियपनातर्फ गइरहेको छ वा क्षारीयपनमा गइरहेको यसको परीषण हुने चौधरीले बताउनुभयो । माटो परीक्षणपछि कुन बाली, कुन खेत र जग्गामा कसरी मल राख्ने र खेती गर्ने भन्ने निक्र्योल हुने छ । माटो परीक्षणको नतिजा किसानको हातहातमा पठाइने निर्देशक चौधरीले बताउनुभयो । अन्तिममा माटोको प्रोफाइल समेत तयार गरिने जानकारी उहाँले दिनुभयो ।