रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर १ मा बस सेवा सञ्चालनमा आएको छ । जिल्ला सदरमुकाम मुसीकोट खलंगादेखि वडाका विभिन्न ठाउँलाई सहज हुने गरी बस सेवा सुरु भएपछि स्थानीय हर्षित भएका छन् ।
यात्रु बाहक बस सञ्चालनमा आएसँगै वडा नम्बर १ को दहभागे, रुघाका स्थानीयलाई सिम्रुतु, जिल्ला सदरमुकाम मुसीकोट खलंगासम्म आवतजावत गर्न सहज हुनुका साथै गाउँ घरमा उत्पादन भएका कृषिजन्य बस्तु बजार सम्म पुर्याउन अनि बजारबाट खाद्यान्न लैजान पनि सजिलो भएको छ ।
बस दैनिक बिहान साढे ७ बजे दहभागे, रुघा हुँदै सिम्रुतुबाट मुसीकोटका लागि छुट्छ भने पुनः खलंगाबाट सिम्रुतु, रुघा हुँदै दहभागेसम्मका लागि बस छुट्दै आएको छ । सानोभेरी यातायात समितिले बस संचालनमा ल्याएको हो । गाउँसम्म बस आउन थालेपछि त्रिवेणि १ सहित आसपासका स्थानीयलाई सहज भएको छ ।