Kakhara सबैको खबर सम्पूर्ण खबर
नक्सा पास नगरी संरचना बनाए मुसीकोटले भत्काइदिने

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले भवन तथा अन्य भौतिक संरचना निर्माणमा कडाई गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गरी घर, भवन तथा अरु भौतिक संरचना निर्माण  गर्दा अनिवार्य नक्सा पास गर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले जारी गरेको सूचनामा नक्सा पास नगरी भौतिक संरचना निर्माण गरेको पाइए कानून अनुसार भौतिक संरचना भत्काइने तथा ५ लाख सम्म जरीवाना लिइने उल्लेख छ ।

नगरपालिकाले एक वर्ष अघि नै नक्सा पास कार्यविधि पारीत गरी राजपत्रमा समेत प्रकाशन गरिसकेको छ । सोही अनुसार गर्न गराउनु हुन नगरपालिकाले भनेको हो । २०७७ साल माघ ६ गते मुसीकोट नगर कार्यपालिकाको कार्यविधि २०७७ स्थानीय राजपत्रमा प्रकाशन गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम मुसीकोट नगर भित्र व्यक्तिगत, संस्थागत वा सरकारी भवन, संरचना बनाउन अनिवार्य नक्सा पास गर्नुपर्ने छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७ (१) मा यो उल्लेख छ । यदी नक्सा पास नगरेर संरचना बनाइए स्थानीय सरकार सञ्चालन ऐनको दफा ३९ (५) को कार्यविधि ११ बमोजिम उक्त जरीवाना हुने पनि सूचनामा उल्लेख गरिएको छ । मुसीकोट नगरपालिका भित्र भवन, संरचना बनाउन नक्सा पास गराउनुपर्ने भएपनि हालसम्म त्यस्तो गर्ने गरिएको छैन । नगरपालिकाले यस अघि पनि एक पटक नक्सा पासलाई अनिवार्य गर्न, गराउन भनि सूचना जारी गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update