नेपाल कम्युनिष्ट पार्टी नेकपा रुकुम पश्चिम वडा तथा सेल कमिटि सम्म पुग्ने भएको छ । बुधबार सदरमुकाम खलंगामा बसेको प्रचण्ड–माधव नेपाल समूहको जिल्ला कमिटि बैठकले विरोध कार्यक्रम, भेला बैठकका लागि तल्लो तहसम्म पुग्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाले तल्लो तहसम्म विरोधको कार्यक्रम गर्ने भएको हो । स्थानीय तहको बैठकको साथसाथै प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोध कार्यक्रम गर्ने गरी समयतालिका निर्धारण गरिएको छ ।
जिल्ला कमिटि बैठकले पुष १७, १८, १९ र २० गते ६ वटै स्थानीय तहको बैठक तथा विरोध कार्यक्रम गर्ने गरी समय तालिका निर्धारण गरेको हो । जसका लागि नेताहरुलाई खटाइएको छ । बाँफिकोट गाउँपालिका र आठबीसकोट नगरपालिकामा विरोध कार्यक्रम गर्ने तथा बैठकका लागि केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, कर्णाली प्रदेश सदस्य महेन्द्र केसी र देवी ओलीलाई जिम्मा दिइएको छ । सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको बैठक तथा विरोध कार्यक्रमको जिम्मा केन्द्रीय सदस्य शेरबहादुर केसी र जिल्ला अध्यक्ष गोपाल शर्मालाई दिइएको छ । त्रिवेणि गाउँपालिका र मुसीकोट नगरपालिकाको बैठक गर्ने र विरोध कार्यक्रमका लागि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकुमार शर्मा र जिल्ला सचिव विमकुमार पुन मगरलाई जिम्मा दिइएको छ ।
हरेक स्थानीय तहले वडा र सेल कमिटि सम्मका बैठक तथा विरोध कार्यक्रम गर्ने समय तालिका निर्धारण गर्ने गरी निर्णय भएको सचिव विमलकुमार पुन मगरले जानकारी दिनुभयो । यसैगरी २२ गते जिल्ला स्थित जनवर्गिय संगठनको भेला तथा प्रशिक्षण र २९ गते बृहत कार्यकर्ता भेला गर्ने निर्णय बैठकले गरेको सचिव पुनले जानकारी दिनुभयो । नेकपा छुट्टाछुट्टै भएपछि जिल्ला कमिटिको यो पहिलो बैठक हो । बैठकमा केन्द्रीय कमिटिले गरेका निर्णय र सर्कुलरबारे पनि जानकारी गराइएको थियो ।