रुकुम पूर्वमा यस वर्ष मह उत्पादनमा भारी गिरावट आएको छ । जिल्लाभरमा यसपाली गर्त वर्षको तुलनामा ८० प्रतिशतले मह उत्पादनमा कमी आएको हो । यस वर्ष जिल्लारभरमा ७ सय २० किलो मह उत्पादन भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार यसपालि उत्पादन भएको ७ सय २० किलो मह भनेको गएको वर्षको तुलनामा ८० प्रतिशतले कम हो । जिल्लामा मह उत्पादन यस वर्ष मात्र घटेको होइन् । पछिल्ला केहि वर्षयता वर्षैपिच्छे मह उत्पादनमा कमी आउदै गएको छ । जिल्लाको सिस्ने गाउँपालिकाको ३ नम्बर वडा माहुँरीको पकेट क्षेत्र हो । पकेट क्षेत्रसँगसँगै जिल्लाभर नै यसपालि मह उत्पादनमा ८० प्रतिशतले कमी आएपछि कृषकहरु चिन्तित बनेका छन् ।
व्यवसायिक रुपमा नै माहुरी पालन गर्दै आएका कृषकहरु झन बढी समस्यामा परेका हुन् । सिस्ने ३ पोखराका ओमबहादुर खड्काले एक हजार एक सय २५ घार माहुरी पाल्नुभएको छ । खड्काले एक सय ८०, कमलाल खड्काले एक सय २०, कलबहादुर घर्तीले एक सय २५ घार माहुरी पाल्नुभएको छ । उहाँहरुजस्तै जिल्लामा विभिन्न फर्म दर्ता गरि माहुरीपालन व्यवसायलाई अंगालेका धेरै कृषकहरु छन् । मह उत्पादनबाटै घरव्यवहार चलाउदै आएकाहरुले पछिल्लो समयमा उत्पादन भएको महको परिमाणलाई हेरेर चिन्ता व्यक्त गरेका छन् । हाल जिल्लाभर २ हजार ३ सय ५० घार तथा गोला माहुरी रहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक हजार ५ सय ६५ वटा आधुनिक घार छन् भने ७ सय ८५ वटा मुढे घार रहेका छन् । जिल्लामा मह उत्पादन घट्दै जानुको प्रमुख कारण माहुरीको घार संख्या थपिदै जानु तर चरण क्षेत्रको विस्तार नहुनु रहेको कृषि अधिकृत बस्नेतले बताउनुभयो । पोखरालाई माहुरीको पकेट क्षेत्र घोषणा गरेपछि कृषकहरु माहुरीपालनमा आकर्षित भएका छन् । पोखरा माहुरीमय भइरहेका बेलामा जिल्लाको अन्य ठाउँमा पनि माहुरी पालक कृषकहरुको वृद्धि हुँदै गएको तर माहुरीको लागि चरण क्षेत्रको विस्तारतिर कसैले ध्यान नदिदा यस्तो समस्या आएको बस्नेतको भनाई छ । यस्तै उहाका अनुसार माहुरी चरणको प्रमुख स्रोत चिउरी हो । यहाँ चिउरी फुल्ने बेलामा वर्षा भएपछि अर्को समस्या थपिएको हो ।
किसानले आधुनिक घारको प्रयोग गर्नु तर त्यसमा आधारचाका प्रयोग नगर्नु, रोग किराको प्रकोपले गर्दा मह उत्पादनमा कमी आएको निष्कर्ष एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयकाे छ । “चिउरीबाट रस प्राप्त हुन्छ, माहुरीलाई रस सँगसँगै कुटको पनि आवश्यकता पर्छ” कृषि अधिकृत बस्नेतले भन्नुभयो, “कुट तोरीमा पाइन्छ, चिउरी फुल्ने बेलामा तोरी लगाउने चलन हराउदै गएको छ, यसकारण पनि मह उत्पादनमा कमी हुँदै गएकाे छ ।” मह उत्पादनमा कमी आएर कृषकहरु निराश बनिरहदा कार्यालयले सिस्नेको ३ र ४ नम्बर वडामा मौरी ब्लक कार्यक्रम सञ्चालन गर्दै छ भने अन्य ठाउँमा मौरी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । विकास र ब्लक मार्फत कृषकको मागमा आधारीत कार्यक्रमहरु सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
जिल्लामा सिस्नेको ३ र ४ मा सबैभन्दा बढी मह उत्पादन हुन्छ । यसैगरी ५, ६, ७, ८, भूमे गाउँपालिकाको ८ र ९ तथा पुथाउत्तरगंगा गाउँपालिकाको १० र ११ मा माहुँरीपालन व्यवसाय राम्रो हुने गरेको छ । जिल्लामा मह उत्पादनबाट आर्यआर्जनको सम्भावना राम्रो रहेको छ । अहिले कृषकहरुले उत्पादन गरेको महले बजारको माग धान्न सकिरहेको छैन् । जिल्ला भित्रको विभिन्न ठाउँसँगै अन्य जिल्लाबाट महको माग आउने गरेपनि जिल्ला भित्रैको माग धान्न नसक्दा बाहिरको माग पुरा हुने कुरै भएन, कृषक ओमप्रकाश खड्काले भन्नुभयो । अहिले २५ सय देखि ३ हजार रुपैयाँ प्रतिधार्नीमा मह बिक्रि भइरहेको छ ।