रुकुम पश्चिममा १८ वर्ष मुनिका बालबालिकाहरुलाई पनि कोभिड विरुद्धको मोडर्ना खोप लगाईने भएको छ । १८ वर्ष माथिका नागरिकका लागि विगत १ वर्ष अगाडि देखि नै खोप कार्यक्रम संचालन भएकामा अव भने १८ वर्ष मुनिकालाई पनि खोप लागाउन लागिएको छ । आगामी पुष ६ गतेदेखि १४ गतेसम्म जिल्लाभरमा मोडर्ना खोप कार्यक्रम संचालन हुन लागेको हो । १८ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरेर मोडर्ना खोप कार्यक्रम बिद्यालयमै संचालन हुन लागेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।
१२ देखि १८ वर्षका बालबालिकाहरु बिद्यालय उमेर समुहभित्र पर्ने भएकाले बिद्यालयमा पुगेर खोप लगाईने उहाँले बताउनुभयो । मन्त्रालयबाट २ सयसम्म बिद्यार्थी भएका बिद्यालयमा खोप केन्द्र राख्ने मापदण्ड रहेको भएपनि जिल्लामा भौगोलिक अवस्थालाई हेरेर त्यो भन्दा कम बिद्यार्थी संख्या भएको बिद्यालयमा पनि खोप केन्द्र राखिने उहाँले बताउनुभयो । तोकिएको उमेर समुहका कोहीपनि बालबालिका खोपबाट नछुटुन भन्नका लागि बिद्यालयमै पुगेर खोप कार्यक्रम चलाउन लागिएको खोप सुपरभाइजर अधिकृत खड्काको भनाई छ । उहाँका अनुसार जिल्लामा १९ हजार ३ सय २३ जना बालबालिकालाई खोप दिने लक्ष राखिएको छ । स्वास्थ्य सेवा कार्यालयले खोप कार्यक्रमलाई सफल पार्न सबैलाई आग्रह गरेको छ ।
स्थानीय तह, बिद्यालय, सुरक्षा निकाय, नागरिक समाज, विभिन्न संघसंस्था, मिडिया लगायत सबैलाई खोप कार्यक्रम सफल पार्न कार्यालयले आग्रह गरेको हो । त्यस्तै कार्यालयले आफ्ना बालबालिकालाई अनिवार्य खोपका लागि बिद्यालयमा लिएर सहयोग गर्न सबै अभिभावकहरुलाई आग्रह समेत गरेको छ । जिल्ला भरमा बालबिकास देखि १२ सम्म कुल २ सय ८० बिद्यालय रहेका छन् । जसमा यो खोप कार्यक्रमबाट ६–१२ का करिब १ सय २७ वटा बिद्यालय लाभाविन्त हुने शिक्षाा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले जनाएको छ ।