रुकुम पश्चिमका एक वडाध्यक्षले रक्सी सेवन गरी बिद्यालयमा आई प्रध्यानाध्यापक सहित शिक्षकलाई अभद्र व्यवहार गरेको भन्दै असुरक्षाको कारण देखाउँदै बिद्यालय बन्द गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नवराज बुढाले रक्सी सेवन गरी मंसिर २७ गते सोमबार दिउँशो १ बजेतिर सोही वडाको डाँफेमा रहेको जनज्योति आधारभुत बिद्यालयमा आई आफु सहित बिद्यालयका शिक्षकहरुमाथि अभद्र व्यवहार देखाउँदै धम्क्याएको प्रध्यानाध्यापक रमेश केसीले दाबी गर्नुभयो । वडाध्यक्षबाटै असुरक्षा बढेपछि बिद्यालय खोल्न नसकिएको उहाँले बताउनुभयो । ‘वडाध्यक्ष बिरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिन खलंगा पुग्नुभएका प्रअ केसीले कखरासंग भन्नुभयो, वडाका संरक्षकबाटै असुरक्षाको महशुस भएपछि शिक्षकहरुले बिद्यालय आउन मान्नुभएको छैन्, ज्यानको सुरक्षाका लागि २७ गते दिउँशो देखि बिद्यालय बन्द गरेका छौं ।’ सुरक्षाको ग्यारेन्टी र वडाध्यक्षमाथि कारवाही नभएसम्म बिद्यालय नखोल्ने अडान प्रअ केसीको छ । वडाध्यक्ष बुढाले गाली गलोज गरी मार्नेसम्मको डर धम्की दिई तलाई पुलिस बोलाएर हतकडी लगाएर लिन्छु भनेको प्रअ केसीले जिल्ला प्रशासन कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ । वडाध्यक्षसंग आएका केही युवाहरु आफुलाई हातपात गर्न भनी कार्यालयमा प्रवेश गर्न खोजेको तर आफुले भिडिओ खिच्न थालेपछि उनीहरु पछि हटेको केसीले बताउनुभयो ।
बालविकास शिक्षिकाको विषय र आफु जनजणनाका लागि फिल्ड सुपरिवेक्षक बनेको विषयलाई लिएर वडाध्यक्ष बुढाले दुव्र्यवहार गरेको केसीको भनाई छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरबहादुर रोकायको छोरी रमिता आर.सी. बालविकास शिक्षिकाका रुपमा कार्यरत रहेको तर हाल गर्भवति रहेकोले काठमाडौंमा रहेको र उनको ठाउँमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोकाले केही समयका लागि करिना बिसीलाई राखेको प्रअ केसीले बताउनुभयो । ‘नियमित चेकजाँच गर्नुपर्ने भएकाले तीन साता भन्दा लामो समय देखि बालविकास शिक्षिका काठमाडौंमा हुनुहुन्छ, पठन पाठनमा असर नपरोस भनेर उहाँको ठाउँमा अध्यक्ष ज्यूले अर्को व्यक्तिलाई पठाउनुभएको छ, केसीले भन्नुभयो–तर वडाध्यक्ष ज्यूले तैले मलाई नसोधि नयाँ शिक्षकलाई किन नियुक्त गरिस भनेर म माथि खनिनुभयो ।’ यस विषयमा नगरपालिकाको शिक्षा शाखामा पनि जानकारी गराएको र शाखाले सुत्केरी बिदा दिन भनेपनि खाली नहोस भनेर उहाँको सट्टामा केही समयका लागि अर्को व्यक्तिलाई राखिएको तर नयाँ भर्ना नगरिएको प्रअ केसीले स्पस्ट पार्नुभयो । त्यस्तै आफु जनगणना २०७८ का लागि फिल्ड सुपरिवेक्षक भएर गाउँमै खटिएको विषयलाई पनि निहुँ बनाएर वडाध्यक्षले दुव्र्यवहार गरेको प्रअको दाबी छ ।
वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले रक्सि खाएर बिद्यालय समयमा बिद्यालय हाताभित्र प्रवेश गरी दुव्र्यवहार गर्नु सामान्य कुरा नभएको र यस्ता हर्कतले शान्ति सुरक्षामा असर पुर्याएको प्रअ केसीले बताउनुभयो । यसै विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्यका उम्मेदवार मानबहादुर नेपालीले पनि धम्कि दिएको उहाँको दाबी छ । बुधबार दिउँशो फोन गरेर तेरो काम छैन्, राजिनामा दे, खुट्टा भाँचिदिन्छु भन्दै नेपालीले धम्की दिएको केसीको दाबी छ ।
जनप्रतिनिधिको रोहबरमा काम गर्नुहोस मात्र भनेको हुँः वडाध्यक्ष
यस वडाका वडाध्यक्ष नवराज बुढाले नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहको चुनाव जित्नुभएको थियो । उहाँ सहित वडाको सिंगो टीम कांग्रेसबाटै निर्वाचित भएको थियो । प्रअले लगाएको आरोपको वडाध्यक्ष बुढाले खण्डन गर्नुभयो । यसबारेमा बुझ्दा वडाध्यक्ष बुढाले कुनै धम्की नदिएको दाबी गर्नुभएको छ । ‘म त बिद्यालय व्यवस्थापन समितिका विषयमा कुरा गर्न बिद्यालयमा गएको थिए, वडाध्यक्ष बुढाले कखरासंग भन्नुभयो–रक्सि खाएको थिएन र कसैलाई पनि धम्की दिएको होइन् ।’ नयाँ बिद्यालय व्यवस्थापन समिति गठन गरम र हरेक काम गर्दा जनप्रतिनिधिको रोहबरमा गर्नुहोला मात्र भनेको उहाँले बताउनुभयो । बन्द रहेको बिद्यालय खुलाउने विषयमा आफुले पहल गरिरहेको समेत उहाँले बताउनुभयो । यसका लागि आफु नगरपालिकामा पुगेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।