Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रशासनको चिठी नबुझेको प्रहरीले पीडितमाथी नै दुर्व्यवहार गर्यो
जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई लेखेको खाम बन्दी पत्र र प्रशासनले तोक लगाएको प्रअको निवेदन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालयले पठाएको चिठी बुझेको छैन । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले आवश्यक जाँचबुझ र कारबाहीका लागि भनेर जिल्ला प्रहरी कार्यालयलाई लेखेको चिठी प्रहरीले बुझ्न नमानेको हो ।

बुधबार आठबीसकोट नगरपालिका ७, को जनज्योती आधारभुत विद्यालयका प्रध्यानाध्यापक रमेशकुमार केसीले ज्यान सुरक्षा गरी पाउँ भनेर दिएको निवेदन कार्यान्वयनको लागि प्रशासनले प्रहरीलाई चिठी लेखेको थियो । प्रअ केसीले आफूमाथी नेपाली कांग्रेसका नेता मानबहादुर नेपालीले ज्यान मार्ने धम्कि दिएकाले ज्यान सुरक्षा गराई पाउँ भनेर प्रशासनमा निवेदन दिनुभएको थियो । सोही निवेदन उपर कारबाही गर्दै जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई चिठी लेखेको थियो ।

तर उक्त चिठी प्रहरीले बुझ्न नमानेको पीडित प्रअ केसीले बताउनुभयो । ‘म प्रशासनले लेखेको चिठी लिएर प्रहरीकोमा गएको थिएँ,’ केसीले भन्नुभयो, ‘तर प्रहरीले चिठी बुझ्नुको साटो उल्टै दुव्र्यवहार गर्यो ।’ आफूलाई प्रहरीको गेट भित्र सम्म छिर्न नदिएको गुनासो उहाँले गर्नुभयो । ‘डिएसपीले सोझै यसको चिठी नबुझ र यसलाई गेट बाहिर पठाइदे भनेर निर्देशन दिनुभयो, अनि चिठी बुझ्नुको साटो उल्टै दुव्र्यवहार भयो,’ केसीले भन्नुभयो । कांग्रेसका नेता नेपालीले आफूलाई मोवाइलबाट ज्यान मार्ने, धम्की दिएको दावी प्रअ केसीको छ ।

शक्तिकै पछि लागेर प्रहरीले पनि आफूमाथी दुव्र्यवहार गरेको भनाई उहाँको छ । प्रहरीले चिठी नबुझेपछि उहाँ त्यो चिठी बोकेर फेरि प्रशासन जानु भएको थियो । प्रशासनले कार्यालय बन्द भएको भन्दै उक्त चिठी बुझ्न मानेको छैन । डिएसपी धु्रुवकुमार श्रेष्ठले भने समस्या भए आठबीसकोटतिरै मिलाउन भनेर पठाइएको बताउनुभयो । आठबीसकोटतिर बसेर मिलाउन नमिलेको भए पछि जिल्ला प्रहरीमा आएर निवदेन दिन भनेर पठाइएको भनाई डिएसपी श्रेष्ठको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update