Kakhara सबैको खबर सम्पूर्ण खबर
सत्ता भन्दा पार्टीप्रतिको आकर्षण बढाउने मुल योजना छ: माओवादी कर्णाली प्रदेश अध्यक्ष केसी

सानै उमेरदेखि विद्रोही भावनाकी विमला केसी सानै उमेरमा संगठनमा आवद्ध हुनुभयो । २०४६ सालमा ११ वर्षकै उमेरमा विद्यार्थी संगठनमा जोडिएकी विमला ३२ वर्षपछि दश जिल्लाको पार्टीको अध्यक्ष बन्नुभएको । माओवादी केन्द्र कर्णाली प्रदेशको मंसिर २५–२८, सुर्खेमा भएको प्रथम सम्मेलनले चयन गरका २ सय ११ सदस्य मध्यबाट केसी अध्यक्ष बन्नुभयो ।

२ सय ११ सदस्यले केसीलाई मंसिर २९ गते सर्वसम्मत पार्टीको कर्णाली प्रदेश अध्यक्षमा चयन गरेका छन् । जनयुद्ध पूर्व, जनयुद्ध र त्यसपछि पनि विभिन्न मोर्चा, संगठनमा र पार्टीका विभिन्न पदमा बसेर काम गरेकी केसीको यो अध्यक्ष पद अवसर र चुनौती दुवै हो । १४ जनाको रस्साकस्सीबाट सुरु भएको अध्यक्ष पद अन्तत केसीकोमा आएर सहमति भयो र माओवादीको कर्णाली प्रदेशले पूर्णता पायो ।

संगठनात्मक सक्रियता
२०४६ सालमै विद्यार्थी संगठनमा आवद्ध भएकी केसी २०४७ मा राप्ती ज्ञानोदय माविको मावी इकाई समितिको अध्यक्ष बन्नुभएको थियो । २०४६ सालको जनआन्दोलन र त्यसले गाउँ गाउँमा पुगेको सन्देशले अधिकार लिन विद्रोह नै उत्त विकल्प हो भन्ने उहाँमा परेको थियो । विद्यार्थी संगठनमा जोडिएपछि आएको उत्साहले निरन्तर संगठन र पार्टीमा काम गर्ने जाँगर चलेको केसीको बुझाई छ ।

धनी, गरीब बराबर हुनुपर्छ भन्ने नारा खास मन परेको केसीले बताउनुभयो । त्यही नाराले संगठन र पार्टीमा क्रियाशिल हुन बल पुगेको उहाँको बुझाई छ । विद्यार्थीमा जोडिएपछि उहाँ २०५० देखि २०५१ सालमा कलाकार बनेर उहाँ गाउँ गाउँमा पुगि जनता जागरण अभियानमा जोडिनुभयो । उक्त समयमा उहाँले महिला, विद्यार्थी र कलाकार संगठनको एकै पटक अध्यक्ष भएर भूमिका निर्वाह गर्नुभएको थियो ।

२०५१ सालमै पार्टीको सदस्यता लिएकी केसी २०५२ फागुन १ गते सुरु भएको जनयुद्धको पूर्णकालिन सदस्य बन्नुभएको थियो । त्यो भन्दा पहिल्यै उहाँलाई पार्टीले बैकल्पिक एसीएम अर्थात एरीया समिति सदस्य बनाएको थियो । पूर्णकालिन भएपछि उहाँले पार्टी र महिला संगठनमा सँगसँगै काम गर्नुुभयो । २०५३ मा पार्टीको एरिया सदस्य बन्नुभएकी उहाँ सोही समयमा एरीया इन्चार्जको भूमिका पनि निभाउनुभयो ।

त्यस अघि उहाँले गाजस प्रमुख भएर पनि भूमिका निभाइ सक्नुभएको थियो । २०५७ उहाँलाई पार्टीले जिल्ला समिति सदस्य बनाएको थियो । उतिबेलै उहाँ माओवादी निकट महिला संगठनको अध्यक्ष हुनुभएको थियो । त्यसपछि पार्टील बझाङमा खटाएको थियो ।

बझाङमा पार्टी अरु संगठन निर्माण गर्दागर्दै उहाँ महिल ासंगठनको केन्द्रीय सदस्य हुनुभयो । २०५९ सालमा महिलाको केन्द्रीय सदस्य, पार्टीको विशेष क्षेत्रीय व्युरो सदस्य तथा महिला विशेष क्षेत्रको संयोजक बन्नुभएको थियो । मगरात स्वायत्त क्षेत्र घोषणा भएपछि उहाँले महिलाको मगरात क्षेत्रको संयोजक बनेर भूमिका निर्वाह गर्नुभयो । शान्ति प्रक्रियापछि २०६४ सालको संविधान सभाको निर्वाचनमा अर्घाखाँची खटेर काम गर्नुभयो ।

जतिबेला उहाँ त्यहाँको सह इन्चार्ज हुनुहुन्थ्यो । टोपबहादुर रायमाझी चुनाव लडेको जिल्लाको चुनावी कमाण्डर नै विमला केसी हुनुहुन्थ्यो । २०६४ को संविधान सभामा उहाँ संविधान सभाको सदस्य बन्नुभयो । त्यसपछि महिलाको केन्द्रीय कार्यालय सचिव पार्टीको महाधिवेशन आयोजक समिति सदस्य तथा पोलिटव्युरो हुँदै पार्टी एकतापछि फेरि उहाँ प्रदेश सदस्य बन्नुभएको थियो । 

एक पटक तीन मन्त्री
देश संघीयतामा गएपछि बनेको कर्णाली प्रदेश सरकारमा उहाँ सहभागि हुनुभयो । भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा कर्णाली प्रदेश सरकारको प्रवक्ताको रुपमा केसीले काम गर्नुभयो । उहाँले सम्हालेको मन्त्रालय हरेक वर्ष अन्य प्रदेशका भन्दा धेरै प्रतिशत कार्य सम्पादनमा अघि भयो ।

कर्णाली प्रदेशकै अरु मन्त्रालय भन्दा उहाँले सम्हालेको मन्त्रालयको वित्तिय तथा भौतिक प्रगती सधै माथी नै रह्यो । किसानका बारीबारी, भकारोसम्म पुगेर कृषि नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी केसीले सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो ।

पार्टीको निर्णय अनुसार उहाँले मन्त्रीबाट राजिनामा दिनुभएको थियो । त्यसपछि फेरि उहाँ कर्णाली प्रदेश सभा सदस्यका हैसियतमा गाउँ गाउँ पुगेर विकास निर्माणको अवस्था अवलोकन, अनुगमनलाई निरन्तरता दिनुभयो । 

सत्ता भन्दा पार्टीप्रतिको आकर्षण बढाउने योजना
प्रथम कर्णाली सम्मेलनबाट अध्यक्षमा चयन भएपछि केसीको मुख्य योजना पार्टीलाई लोभलाग्दो र रहर लाग्दो बनाउने छ । सत्ता भन्दा पार्टीमै बस्न मन पराउने गरी पार्टी निर्माण गर्ने योजना रहेको केसीले सुनाउनुभयो । स्थानीय र प्रदेश सरकारमा सहभागि हुने स्वभावैले सबैको इच्छा हुन्छ ।

तर अबको पार्टी कार्यकर्ताले सत्ता भन्दा पनि पार्टीमै काम गर्छु भन्ने गरी निर्माण गर्ने दृढता उहाँको छ । विधि, पद्धति र संस्थागत रुपमा पार्टी अघि बढ्ने उहाँले बताउनुभयो । पार्टी भित्र राम्रो गर्नेलाई हौसला, पुरस्कार, गलत गर्नेलाई पनि त्यही अनुसारको व्यवस्थापनको मापदण्ड सहितको पार्टी बन्ने उहाँको दावी छ  । महिलाले पनि गर्न सक्छन् भन्ने देखाउन यो जिम्मेवारी चुनौती र अवसरका रुपमा लिएको केसीले बताउनुभयो ।

अबको कर्णालीको पार्टी खास माओवादी स्प्रिटको हुने र त्यसका लागि कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने केसीले बताउनुभयो । कार्य विभाजन हुन्छ । जिम्मेवारी अनुसार काम गर्नुपर्ने छ । गफ लडाएर मात्रै पार्टी बन्ने अवस्था नभएकाले अब काम गर्नेहरु नै उदाउने, स्थापित हुने गरी पार्टी केन्द्रीत गराउने गरी योजना बनाउने उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update