रुकुम पश्चिम सदरमुकाम खलंगा स्थित बाल मन्दिर संरक्षणको काम सुरु भएको छ । १ नम्बर वडामा रहेको बाल मिन्दर संरक्षणमा मुसीकोट नगरपालिकाले लगानी गरेको छ । मुसीकोट नगरपालिकाले सहरी शासकीय विकास कार्यक्रमबाट बाल मन्दिरको संरक्षण थालेको हो ।
संरक्षण अन्तर्गत कम्पाउन्डिङ वाल, त्यसमा रेलिङ, मुल प्रवेशद्धार र बाल मन्दिरको प्रांगनमा ढलान गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष चित्र थापाले जानकारी दिनुभयो । अध्यक्ष थापाका अनुसार वाल निर्माणको काम सकिएको छ भने प्रवेशद्धारको काम पनि धमाधम भइरहेको छ ।
रेलिङ र ढलानको काम भने बाँकी छ । यसलाई पनि छिटै सुरु गर्ने र छिटै सक्ने योजना रहेको अध्यक्ष थापाले बताउनुभयो । विग्रदै गएको बाल मन्दिरको स्वरुप राम्रो बनाउन यो योजना कार्यान्वयन भइरहेको मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताउनुभयो ।
पहिलो चरणमा १५ लाख बजेटबाट काम थालिएको भन्दै उहाँले आवश्यक्ताका आधारमा अरु पनि बजेट व्यवस्थापन गरेर बाल मन्दिरलाई राम्रो बनाउने बताउनुभयो । लामो समयदेखि वेवारिसे जस्तो देखिने बाल मन्दिर अब भने व्यवस्थित हुने छ । यसका लागि नगरपालिकाले पनि दश लाख बजेट विनियोजन गरेको छ ।
नगरप्रमुख देविलाल गौतमले धेरेको चासो र गुनासोमा रहेको बाल मन्दिरको व्यवस्थापनमा नगरपालिका चिन्तित रहेको र आवश्यक काम थालेको बताउनुभयो । सुरुवात चरणको यो कामले बाल मन्दिरको समग्र संरक्षणमा टेवा पुग्ने भनाई नगरप्रमुख गौतमको छ । बाल मन्दिरका अरु संरचनाको मर्मत, सम्भार र व्यवस्थित गर्ने कार्य पनि हुने उहाँले बताउनुभयो ।