रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खलंगामा विच भलिबल सुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा जिल्लामा पहिलो पटक महिला पुरुष विच भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता हिजो उद्घाटन भएपनि खेलहरु भने आजबाट सुरु भएका छन् ।
प्रतियोगिता अन्तरगत पुरुष तर्फ २३ र महिला तर्फ १४ जोडिको सहभागिता रहेको छ । प्रतियोगितामा रुकुम पश्चिम, दाङ, वाग्लुङ, सल्यान लगायत ठाउँका खेलाडिहरुले भाग लिएका छन् । पुष ४ गतेसम्म संचालन हुने प्रतियोगिताको महिला परुष दुवै तर्फको विजेताले समान ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै उप विजेताले समान ३० हजार पुरस्कार पाउने छन् भने सेमिफाईनमा पुग्ने महिलाका दुइ तथा पुरुषका दुइ गरी ४ जोडिले समान १० हजार पुरस्कार पाउने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष गोविन्द ओलीले जानकारी दिनुभयो । जिल्लामा विच भलिबलको विकास गर्ने उदे्श्यले पहिलो पटक यो प्रतियोगिता आयोजना भएको उहाँको भनाई छ ।
समुन्द्रको छेउमा बालुवामा एक टिममा २ जनाले खेल्ने भलिबललाई विच भलिबल भनिन्छ । मुसीकोट खलंगाको बराहटाकुरा खेल मैदानमा बालुवा राखेर खेल संचालन भइरहेको छ । पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा खेलाडिहरुको उल्लेख्य उत्साह देखिएको आयोजकले जनाएको छ ।