रुकुम पूर्वमा बृहत् कृषि प्रदर्शनी मेला सम्पन्न गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका–६ स्थित छिप्रिदहमा जिल्ला स्तरीय बृहत् कृषि प्रदर्शनी मेला गरिएको हो । निर्वाहमुखी खेती प्रणालीलाई व्यवसायिक खेतीमा रुपान्तरण गर्नुका साथै कृषि उपज उत्पादनमा कृषकको प्रतिस्पर्धी खेतीपातीलाई टेवा पु¥याउने उद्देश्यले जिल्ला स्तरीय बृहत् कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको हो ।
एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालय रुकुमपूर्व, सिस्ने गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय र हुरेड–कार्स रुकुम पूर्वले संयुक्त रुपमा बृहत् कृषि प्रदर्शनी मेलाको आयोजना गरेका हुन् । पहिलो दिन बिहीबार मेलामा भाग लिने कृषकहरूको नाम दर्ता गरिएको थियो । बृहत कृषि प्रदर्शनी मेलाको लागि जिल्लाका १ सय ९८ जना कृषकले आफ्नो नाम दर्ता गरेका थिए ।
उक्त प्रतिस्पर्धीबाट ७६ जना उत्कृष्ट कृषकलाई प्रमाण पत्रका साथै नगदले पुरस्कृत गरिएको छ । कृषकको उत्पादनलाई ११ वटा विधामा राखेर पुरस्कारको लागि मूल्याङ्कन गरिएको एकीकृत कृषि तथा पशुपंन्छी विकास कार्यालयका पशुपंन्छी शाखा अधिकृत छविलाल घर्ती मगरले जानकारी दिनुुभयो । कृषि उपजका विधाहरूमा नगदे बाली, तरकारी बाली, फलफूल बाली, खाद्यान्न बाली, दलहन, रैथाने बाली यसैगरी तेलहन बाली, मौरी, माछा, पशुपंन्छी र मसला लगायत बालीलाई छुट्टाछुट्टै रुपमा मुल्याङ्कन गरिएको थियो ।
११ विधामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने कृषकलाई प्रमाण पत्र सहित नगद क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजारले पुरस्कृत गरिएको छ । राम्रो काम गरेकालाई पुरस्कृत गरिने र अन्यलाई पनि काम गर्नुपर्दो रहेछ भन्ने भावना जगाउनु नै यस मेलाको मुख्य उद्देश्य रहेको एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय कार्यालय प्रमुख पिताम्बर बस्नेतले बताउनुभयो ।
उत्कृष्ट कृषकलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्रबहादुर ओलीले कृषकहरुलाई विभिन्न माध्यामबाट कृषि पेशामा प्रेरित बनाउन सकिने बताउदै कृषि प्रर्दशनी मेला पनि यसको एउटा माध्याम भएको बताउनुभयो । कृषि प्रदर्शनी मेलामा थुप्रै कृषकहरुले आफुले उत्पादन गरेका उपजहरु ल्याएर पुरस्कृत भएकोमा उहाँले खुसी पनि व्यक्त गर्नुभयो ।
यसले उत्पादनलाई अझ बढवा दिन सहयोग पुग्ने उहाँको भनाई छ । अहिले स्थानीय सरकारसँगै विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले पनि कृषिको क्षेत्रमा किसानहरुलाई सहयोग गरेको बताउदै समन्वय प्रमुख ओलीले यसबाट उनिहरुको आयआर्जनमा टेवा पुगेको पनि बताउनुभयो । कृषकको उपजलाई स्थानीय सरकारमार्फत बजार व्यवस्थापनको काम भइरहेको पनि उहाँको भनाई छ ।
यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले कृषिको क्षेत्रमा स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसँगै विभिन्न गैरसरकारी संघ संस्थाले पनि लगानी गरिरहेको बताउनुभयो । सिस्नेले गाउँपालिकाको विभिन्न ठाउँलाई पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेको जानकारी दिदै अर्गानीक जिल्ला निर्माणलाई सहयोग पुग्ने गरी योजना निर्माण र कार्यान्वयनमा जोड दिइरहेको उहाँकाे भनाई छ । कृषकको मागमा आधारित कार्यक्रमहरु सञ्चालन गर्नुका साथै अनुदान, दिने र उपजहरुलाई उचित मुल्यमा संकलन र बजारिकरणमा जोड दिइरहेको अध्यक्ष बरालले बताउनुभयाे ।