विषय प्रवेश
दिनहुँजसो म आवतजावत गर्ने बाटोको छेउमै पर्थ्यो शबदाह स्थल । मान्छे नमरेको सायदै दिन हुन्थ्यो । एकदिन चितामा शव राख्ने अन्तिम तयारी थियो । मलामीहरू शव र चितातर्फ नियाली रहेका थिए । शोकले वातावरण चकमन्न थियो । आत्तिदै दुई जना आ-आफ्नो ठाउँबाट जर्याकजुरुक उठे । दुई जनाको होडबाजी नै चल्यो । खल्तीबाट पट्याएको कपडा निकाले । खल्तीको कपडा अरु थिएनन् । पार्टी विशेष झण्डा थिए । अन्तस् निलो ज्याकेटवालाले चलाखीपनमा बाजी मार्यो । तोकिएको आकृति र रुप रङ्गको झण्डा शबमाथि ओढायो । उसले सबैलाई मौन धारण गर्न उर्दी जारी गर्यो । कतिले उर्दीको पालना गरे । कतिपयले गरेनन् । शिर निहुँर्याएर । शोकको भावसहित मौनधारण प्रकट गरे । केहीले जय नेपाल गर्न खोज्दै थिए । केहीले लालसलाम । शबमा राजनीतिक विभाजन देखियो । झण्डा ओढाउन सफल पक्षमा विजयको भाव सञ्चरण भयो । अर्को पक्षले लेग्रो झारे । उनीहरूमा निराशा र पराजयको भाव थियो । पराजयको महसुस गरेका मलामीहरू उपस्थिति जनाएर फर्कन थाले । अन्तिमसम्म बसेनन् । मलामीहरूको सङ्ख्या ह्वात्तै घट्यो ।
झण्डा के हो ?
निश्चित आकार, ढङ्ग, ढाँचासहितको प्रतिकात्मक आकृति झण्डा हो । महान दार्शनिक कन्फ्युसियसले हजार शब्दको व्याख्या एक तस्बिरले गर्छ भने झैं विभिन्न पाटा र पक्षको सङ्केतात्मक व्याख्या गर्ने आकृतिका रूपमा झण्डालाई लिइन्छ । झण्डाको गरिमा र ओहदा विशिष्ट हुन्छ । झण्डा आस्थाको प्रतीक हो । गरिमा र गौरवको सङ्केत हो । चिनारी र पहिचानको द्योतक हो । यसले समुदाय, सङ्गठन र राष्ट्रको पहिचान दिलाउँछ । राष्ट्रियताको रुपमा वर्ग, समुदायको भावनासमेत उजागर गर्दछ । झण्डाले विरता र गौरवको भाव बोकेको हुन्छ ।
झण्डाले आस्थाहरूको साझा प्रतिनिधित्व गर्दछ । आस्थाको प्रतीकका रूपमा समेत झण्डालाई लिइन्छ । यसले एकताको छहारीका रूपमा कार्य गर्दछ । सामूहिकताको विशिष्ट पहिचान दिलाउने माध्यम झण्डा हो । साझापनको चिनारी व्यक्त गर्ने शक्तिका रूपमा समेत झण्डालाई लिन सकिन्छ ।
झण्डाको महत्व
झण्डाले सामुहिकता प्रतिविम्बित गर्छ । राष्ट्रियता, वैचारिक साङ्गठनिक एकताको गरिमालाई उचो बनाउन झण्डाको विशेष महत्त्व रहन्छ । झण्डा हावामा उड्ने कपडाको केवल टुक्रा मात्र होइन । झण्डाले भावनात्मक पक्षको उजागर समेत गर्दछ । एकताको पक्षमा जागरण ल्याउने शक्ति प्राप्त गर्नसमेत झण्डाले अहम् भूमिका खेल्दछ । दर्शनप्रतिको आस्था र विश्वासको धरोहरका रुपमा कार्य गर्न समेत झण्डाको स्थान अग्र रहेको छ ।
विभिन्न विचार, सोच र चिन्तनलाई झण्डाले एकीकृत गर्छ । वीर रसको उत्पत्तिको स्रोतका रुपमा समेत झण्डालाई लिन सकिन्छ । समूह, सङ्गठनप्रति गर्व गर्न र आस्थालाई चम्किलो बनाउने काम झण्डाले गर्दछ । आस्थाको प्रतीकका रुपमा समेत हेरिने हुँदा झण्डाको गरिमा उच्च रहेको छ । यसको सम्मान र संरक्षणले आस्था सबलीकरण हुन्छ र जीवन्त बन्छ । वैचारिक, साङ्गठनिक उद्देश्यको विस्तृतीकरणका लागि झण्डाको उपयोगिता प्रभावकारी हुन्छ ।
राजनीतिमा झण्डाको प्रयोग
झण्डाको व्यापक प्रयोग विशेष गरी राजनीतिक क्षेत्रमा हुने गरेको छ । आन्दोलन, सभा समारोहदेखि हरेक राजनीतिक पार्टीका गतिविधिमा झण्डाको प्रयोग अधिक हुने गरेको पाइन्छ । मृत्यु हुँदा हिजोआज शबमा समेत झण्डा ओढाउने कार्यले व्यापकता पाएको छ । स्थानीय कार्यकर्ताहरूले शबमा झण्डा ओढाउने प्रतिस्पर्धा गरेको समेत देखिन्छ । मृत्युमा झण्डा ओढाउने न त कुनै मापदण्ड छ न त कुनै कार्यविधि नै १ आफ्नो राजनीतिक दलको मान्छे भन्दै तानातान गर्ने प्रवृत्तिमा बढोत्तरी हुन थालेको छ । गोप्य मतदान न हो कसले केमा मतदान गर्यो पत्तो हुने कुरो भएन । अनुमानका भरमा आफ्नो पार्टीको भन्दै सहानुभूति प्रदान गर्ने अस्त्रका रुपमा झण्डा ओढाउने कार्यलाई लिन थालिएको छ ।
जथाभावी झण्डाको प्रयोगले यसकव गरिमा घटेको छ । वास्तविक सम्मान भन्दा पनि विभाजन कायम गर्ने साधनका रूपमा झण्डा प्रयोग हुन थालेको छ । न त मृतक स्वयंले स्वघोषणा मार्फत झण्डाको माग गरेको हुन्छ न त कुनै किटान गरिएको उच्च जिम्मेवारी नै । हचुवाका भरमा झण्डाको सम्मान दिने कार्यले सामाजिक सद्भाव खलबलिएको छ । सामाजिक एकतामा विभाजन ल्याएको छ । यसले दलको ट्याग लगाउन मन नपराउनेहरूका मनहरू कुडिएका छन् । एकताको सम्बन्ध चुँडिएको छ । राजनीतिक हिसाबकिताबले समवेदना हराउन थालेको छ । पलपलमा राजनीतिक नाफा घाटाको खोजीले प्रश्रय पाएको छ ।
दलका झण्डाहरू त त्यहाँ फहराउनु पर्ने हो जहाँ गरिवका दुस्ख, पीडा र समस्या छन् । अन्याय र अत्याचार छ । शोषण, विभेद र दमन छ । त्यसको खबरदारीमा झण्डा अघि सार्नुपर्ने हो । सभ्य, शान्त र समुन्नत समाज निर्माणको रखवारीमा प्रदर्शन हुनुपर्ने हो । विकास, समृद्धि र सुशासनका पक्षमा फहराउनु पर्थ्यो । तर त्यता कार्यमा झण्डा कामविहीन हुन थालेको छ । आवश्यक ठाउँमा झण्डाको प्रदर्शनी कटौती भएको छ । यसले गरिमामा गिरावट ल्याएको छ ।
दल विशेष झण्डाको परिस्थिति फरक बनेको छ । पछिल्लो समय दलका झण्डाहरू त मसान घाटमा पो बढी फहराउन थालेका छन् । मसानघाट जहाँ सुनसान अनि मसान मनोविज्ञान जागृत हुन्छ । ती मसानघाट हिजोआज रङ्गी बिरङ्गी देखिन थालेका छन् । कयौं झण्डा लत्रिएका देखिन्छन् छन् त कयौं बाटोमा कुल्चिएका पनि । मसानघाट आसपासको राजनीतिक बर्चस्व बुझ्न मसानघाट गए पुग्ने भएको छ । किनकी मसानघाटमा गाडिएका झण्डा अवलोकन गरे त्यस क्षेत्रको राजनीतिक दलको अस्तित्व र बाहुल्यता सहजै अनुमान गर्न सकिन्छ ।
राजनीतिक दलको आयोजनामा मृतकको घरमा श्रद्धाञ्जली सभा गर्ने प्रतिस्पर्धा पनि चलेको पाइन्छ । मृतकको राजनीतिक हैसियत र पृष्ठभूमिलाई ख्याल गरिदैन । कतिपयमा परिवार र आफन्तजनलाई अन्ठसन्ठ बनाएर श्रद्धाञ्जली सभाको आयोजना हुने गरेको पाइन्छ । ओल्लो घरमा श्रद्धाञ्जली सभाको आयोजना गर्दा पल्लो घरकोले भने नाक खुम्च्याउने प्रवृत्ति रहेको छ । एकले आयोजना गर्दा अर्को फरक दलमा आस्था राख्नेहरू उपस्थित नभएको पाइन्छ । जसले आयोजना गरे पनि समवेदना प्रकट गर्नु मानवीयताको सवाल हो । हरेक सोचाइ राजनीतिक विभाजन केन्द्रित हुन थालेका छन् । न त सोच फराकिलो बन्न सकेको छ न त विभाजनको मानसिकताको अन्त्य नै । यसले समाजमा मानवीय समवेदना समेत हराउदै गएको आभास हुन थालेको छ । सस्तो राजनीतिक गन्ध मिसाउने प्रयासले आक्रोश, कुण्ठा र विभाजनलाई मलजल गरेको छ । सामाजिक एकता र सदभावलाई खलबल्याएको छ ।
अन्त्यमा,
पछिल्लो समय सामाजिक जीवनमा राजनीतिक विभाजन पेचिलो बन्दै गएको छ । कोक्रोदेखि सुरु भएको विभाजन मसानघाटसम्म पनि देखिन थालेको छ । सामाजिक जीवनको क्षयीकरण हुँदै गएको छ । मावन जीवनको अभिन्न अङ्ग विभाजन बन्न पुगेको छ । यसको गुञ्जायसलाई थेग्ने सामर्थ्य विकासको खाँचो महसुस भएको छ ।झण्डाको गरिमा कायम गर्न स्पष्ट हैसियत र योगदानको मापदण्ड निर्धारण गर्न जरुरी छ । कुनै पनि दलले झण्डा प्रयोग गर्ने कार्यविधि बनाएको पाइदैन । झण्डाको गरिमा कायम गर्न झण्डा प्रयोग कार्यविधिको जरुरत देखिन्छ । मनोमानी र हचुवाका भरमा झण्डाको प्रयोग आफैमा दुरुपयोग हो । बिरालोले मुसो कुरे जस्तै गरी झण्डा ओढाउदैमा राजनीति टिकाउ र बिकाउ हुन सक्दैन । राजनितिक प्रभावका लागि लाशमा विभाजनको स्थिति पैदा गर्नु राम्रो होइन । स्पष्ट दृष्टिकोण, अग्रगामी योजना र त्यसको मौलिक कार्यान्वयनले मात्रै राजनीतिक दलहरू बलिया र स्थायी बन्न सक्छन् । मानिस सामाजिक प्राणी हो । अघोषित सामाजिक आचारसंहिताको ख्याल पनि गर्नुपर्छ । मानवीय समवेदना गुमाउनु हुदैन । त्यसप्रति सबै सचेत र जिम्मेवार बन्न आवश्यक छ ।