रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सेवा प्रवाह घुम्ती शिविर सुरु गरेको छ । टोल टोलमा पुगेर नगर सेवा दिने उद्देश्य राखेर शिविर सुरु गरिएको नगरपालिकाले जनाएको छ । शिविर ६ नम्बर वडाको मुलबजारबाट सुरु भएको हो ।
१ गते ६ नम्बर वडाको मुल बजार, २ र ३ गते ४ नम्बर वडाको चौतारामा शिविर सञ्चालन गरिएको छ । ५ र ६ गते २ नम्बर वडाको साजेबगरमा शिविर सञ्चालन गर्ने नगरपालिकाका प्रशासन सहायक जयबहादुर बुढाले जानकारी दिनुभयो । ७ गते ३ नम्बर वडाको खदीमा शिविर सञ्चालन तयारी रहेको बुढाले बताउनुभयो । शिविर सञ्चालनका लागि नगरपालिकाका ८ जनाको टोली खटिएको छ ।
योजना सम्झौता, अपांगता परिचय पत्र वितरण, संघ संस्थाको दर्ता र नविकरण लगायतका काम भइरहेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह नेतृत्वको टोली शिविरमा खटिएको छ । नगर सेवा वडा र टोलसम्म पुर्याउनका लागि शिविर आयोजना गरिएको अधिकृत शाहले बताउनुभयो ।
शिविरका क्रममा जति सक्यो धेरै सेवा लिने सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई आग्रह गरिएको भन्दै शाहले शिविर मार्फत सबै सेवा दिइरहेको बताउनुभयो । नगरमा नपुगि नहुने बाहेक सबै सेवा सहित शिविरमा हिडिरहेको भनाई उहाँको छ ।