रुकुम पश्चिमको बाँफिको गाउँपालिका २ पिपल, कुनाखेमा परम्परागत रुपमा लाग्दै आएको कुनाखेत मेला यो वर्ष पनि लाग्ने भएको छ । हरेक वर्ष मंसिर पूर्णिमा देखि सुरु हुने कुनाखेत मेला गत वर्ष कोरोना महामारीका कारण लाग्न सकेको थिएन । यो वर्ष मेलाको अवसरमा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ ।
युवा तथा खेलकुद विकास समिति बाँफिकोट २ ले मेलाको अवसरमा शुद्ध खुला वडा स्तरीय भलिबल प्रतियोगिता र महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । भलिबल विजेताले नगद ५० हजार उप विजेताले नगद ३० हजार र सेमिफाइनल पुग्ने दुई टिमले नगद १५ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
महिला ब्याडमिन्टन तर्फ पहिलो हुने जोडीले नगद ५ हजार दोस्रो हुने जोडीले ३ हजार र तेस्रो हुने जोडीले २ हजार सहित प्रमाण पत्र हात पार्ने भएका छन् । त्यस्तै आयोजकका अनुसार पुरुष ब्याडमिन्टन तर्फ प्रथम हुने जोडीले ८ हजार दोस्रोले ५ हजार र तेस्रोले ३ हजार प्राप्त गर्ने छन् ।
पुस ४ गते देखि सुरु हुने खेलकुद प्रतियोगिताको टिम दर्ताको काम भइरहेको युवा तथा खेलकुद विकास समितिका अध्यक्ष जोखबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ४ गतेदेखि सुरु हुने मेला ५ गतेको रातिसम्म रहनेछ । ५ गते दिउँसो स्थानीय मेला पस्ने कार्यक्रम तय गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयाे ।