रुकुम पश्चिमको बाँफिको गाउँपालिका २ पिपल कुनाखेतमा परम्परागत रुपमा लाग्दै आएको कुनाखेत मेला सुरु भएको छ । मेलाका अवसरमा आयोजित विविध खेलकुद प्रतियोगिता आज आइतबार उद्घाटन भएको छ । प्रमुख अतिथि बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।
मेलाको अवसर पारी खुला वडा स्तरीय पुरुष भलिबल, महिला र पुरुष ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको आयोजक युवा तथा खेलकुद विकास समिति बाँफिकोट २ का अध्यक्ष जोखबहादुर केसीले जानकारी दिनुभयो । अध्यक्ष केसीका अनुसार भलिबल प्रतियोगितामा रुकुम पूर्व र पश्चिमका २३ टिमको सहभागिता छ ।
भलिबल विजेताले नगद ५० हजार उप विजेताले नगद ३० हजार र सेमिफाइनल पुग्ने दुई टिमले नगद १५/१५ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । महिला ब्याडमिन्टन तर्फ पहिलो हुने जोडीले नगद ५ हजार दोस्रो हुने जोडीले ३ हजार र तेस्रो हुने जोडीले २ हजार नगद सहित प्रमाण पत्र हात पार्ने छन् ।
त्यस्तै पुरुष ब्याडमिन्टन तर्फ प्रथम हुने जोडीले ८ हजार दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगदका साथमा प्रमाण पत्र प्राप्त गर्ने छन् । मुख्य मेला ५ गते लाग्ने जनाइएको छ । गत वर्ष भने कोरोनाको कारण यो मेला लागेको थिएन । परापूर्वकालदेखि नै यहाँ मेला लाग्दै आएको हो ।