Kakhara सबैको खबर सम्पूर्ण खबर
विच भलिबलमा दिल र अमृत तथा शर्मिला र राधाकाे जाेडि विजेता

जिल्ला भलिबल संघ रूकुम पश्चिमले आयोजना गरेको विच भलिबलमा पुरूष तर्फ बाग्लुङको दिल सुनार र अमृत क्षेत्रीको जोडि पहिलो भएको छ । मुसीकोट खलंगाको बराहटाकुरामा पहिलो पटक आयोजित विच भलिबलको आज भएको फाईनलमा बाग्लुङकै रोहन थापा र सौरभ गुरूङको जोडिलाई पराजित गर्दै दिल र अमृतको जोडि पहिलो भएको हो ।

विजेता जोडिले नगद ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेताले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । सेमिफाईनलसम्म पुग्ने रूकुम पश्चिमको महेश परियार र गोपाल बुढा तथा नवीन ओली र गणेश बुढाको जोडिले समान १०/१० हजार नगद, मेडल र प्रमाण पत्र पाएको छन् ।

त्यस्तै महिला तर्फ दाङको शर्मिला नेपाली र राधा बुढाथोकीको जोडि विजेता बनेको छ । आजै भएको फाईनलमा दाङकै मोनिका बिष्ट र सीता ओलीको जोडिलाई पराजित गर्दै शर्मिला र राधाको जोडि विजेता बन्न सफल भएको हो । महिला तर्फको विजेता जोडिले पनि नगद ५० हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप विजेताले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

त्यस्तै सेमिफाईनलसम्मको यात्रा तय गर्ने शर्मिला मगर र लिला मगर तथा शोनिसा र प्रतिक्षाकाे जोडिले समान १०/१० हजार नगद, मेडल र प्रमाण पत्र पाएका छन् । जिल्लामा विच भलिबलको विकासका लागि जिल्ला भलिबल संघले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा पुरूष तर्फ २३ र महिला तर्फ १४ जोडिले प्रतिस्प्रधा गरेका थिए । प्रतियोगितामा रूकुम पश्चिम, रूकुम पूर्व, बाग्लुङ, सल्यान, दाङका खेलाडिको सहभागिता थियो ।

बराहटाकुरामा बालुवा राखेर खेल खेलाईएको थियो । प्रतियोगिताले जिल्लामा विच भलिबललाई चिनाउन सहयोग गरेको जिल्ला भलिबल संघका अधयक्ष गोविन्द ओलीले विश्वास व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update