मुसीकोटमा संचालित प्रथम जिल्ला भलिबल संघ कप सानीभेरी ७ ले जितेको छ । मुसीकोट नगरपालिका–१, खलंगा स्थित बह्राटाकुरा खेलमैदानमा आज भएको फाईनलमा बाँफिकोट गाउँपालिका ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै सानीभेरी ७ ले कप हात पारेको हो । पहिलो र दोस्रो सेट समान २० का विरुद्ध २५ ले आफ्नो पक्षमा पारेकाे सानीभेरी ७ ले तेस्रो सेट १८ का विरुद्ध २५ ले आफ्नो पक्षमा पार्यो । बिजेता सानीभेरी ७ ले कपका साथै नगद ५१ हजार पनि हात पार्यो ।
उप–विजेता बनेको बाँफिकोट ५ ले भने ३१ हजारमा चित्त बुझाउन बाध्य भयो । उसले नगद सहित ट्रफि पनि प्राप्त गरेको छ । यसैविच प्रतियोगितामा त्रिवेणि गाउँपालिका ८ तेस्रो भयो । आजै भएको खेलमा बाँफिकोट १ लाई पराजित गर्दै तेस्रो भएको त्रिवेणि ८ ले नगद २१ हजार र ट्रफि हात पारेको छ । बिजेता, उप–विजेता र तेस्रो हुने वडाका खेलाडिहरुलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
त्यस्तै पाँच वटा व्यक्तिगत इभेन्टमा पनि खेलाडिहरु पुरस्कृत भएका छन् । उत्कृष्ट खेलाडि सानीभेरी ७ का गणेश बुढाथोकी बन्नुभएको छ । त्यस्तै उत्कृष्ट स्पाईकर बाँफिकोट ५ का सुजन चन्द, उत्कृष्ट सर्भर सानीभेरी ७ का नविनकुमार बोहरा, उत्कृष्ट डिफेण्डर बाँफिकोट ५ का डम्बर केसी र उत्कृष्ट सेटर त्रिवेणि ८ का रोशन खड्का बन्नुभएको छ । वेस्ट प्लेयरलाई ट्रफि सहित नगद तीन हजार र अन्यलाई ट्रफि सहित नगद २/२ हजारले पुरस्कृत गरिएको आयोजक जिल्ला भलिबल संघले जनाएको छ ।
संघले लामो समयपछि जिल्लामा भलिबल गतविधि व्युताउँदै भलिबल संघ कप आयोजना गरेको हो । गत चैत्र देखि कोरोना कारण ठप्प रहेको भलिबल त्यो भन्दा अगाडि पनि लामो समय देखि सुस्त अवस्थामा थियो । संघले यो प्रतियोगितालाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका रुपमा समेत लिएको छ । यो प्रतियोगिताबाट जिल्लाको टिम पनि घोषणा गर्ने भनेकामा अवको केहि दिनमा टिम घोषणा गर्ने संघका अध्यक्ष मोहनकुमार चन्दले जानकारी दिनुभयो ।