रुकुम पश्चिमका बाँफिकोट गाउँपालिका, आठबीसकोट नगरपालिका र रुकुम पूर्वको सिस्ने गाउँपालिकाका केही वडावासीलाई जिल्ला सदरमुकाम मुसीकोटसंग जोड्ने छोटो मार्गका रुपमा रहेको सल्ले–भुर्सुली सडक खण्ड मर्मतको काम सुरु भएको छ । यस सडक खण्ड अन्तरगत मुसीकोट १ को सतिपोले देखि वडा नम्बर २ को पुरुणडाँडासम्मको डेढ किलोमिटर सडक मर्मत हुन लागेको हो ।
कर्णाली प्रदेश सरकार मार्फत मुसीकोट नगरपालिकामा आएको समानिकरण अनुदानबाट सडक मर्मत हुन लागेको उपभोक्ता समितिका अध्यक्ष बिष्णुप्रकाश खड्काले जानकारी दिनुभयो । १५ दिनमा मर्मतको काम सक्ने गरी काम सुरु भएको उहाँले बताउनुभयो । सडक अहिलेको भन्दा १ मिटर चौडा बनाईने छ भने बिग्र्रिको ठाउँमा मर्मत गरिने उहाँको भनाई छ ।
यो सडक भुर्सुलीमा पुगेर सोलावाङ–बालुवा सडक खण्डमा मिसिन्छ । सदरमुकाम पुग्नका लागि अन्य सडकको तुलनामा यो सडक छोटो छ । भुर्सुलीबाट सिस्नेखोला, पुरुणडाँडाबाट सल्ले मिसिने यो सडक खण्डको भुर्सुली देखि पुरुणडाँडासम्म भने यस अघि नै डबल कटिङ गरिसकिएको छ ।।