रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १ को पातिहाल्नामा एक युवकको शव फेला परेको छ । सल्लेबाट भेरी जाने बाटोमा पर्ने पातिहाल्ना डाँडामा जाजरकोटका एक युवकको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ । उक्त शव मुसीकोटमा ज्याला मजदुरीको काम गर्दै आईरहेका अन्दाजी २५, २६ वर्षिय बिजय परियारको रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शवको पहिचानका लागि मुसीकोट २ मा रहेका आफन्तहरु आईरहेको उहाँले बताउनुभयो । परियारकाे टाउकाेमा चाेट देखिएकाे छ भने रगत पनि बगेकाे देखिन्छ । प्रहरीले भने याे पुरानै चाेट रहेकाे र नयाँ चोट नभएको बताएकाे छ । उक्त चोट भारी बोक्ने बेलामा लागेको हुनसक्ने प्रहरीको अनुमान छ । तर परियारको मृत्यु के कारणले भयो बारेमा केही भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
अहिले शव घटनास्थलमै रहेको छ । नयाँ बसपार्क निर्माण हुन लागेको ठाउँ भेरी नजिकै सडकमा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।