रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका वडा नम्बर १ मा उत्पादन भएको अदुवाले बजार नपाएको भन्दै अदुवा उत्पादक किसान चिन्तित बनेका छन् । वडा भरमा अदुवा ब्लक कार्यक्रम अन्तरगत उत्पादन भएको अदुवाले बजार पाउन नसकेको किसानहरुको गुनासो छ । कृषि विकास कार्यालय मार्फत लगानी भएको कर्णाली प्रदेश सरकारको २० लाख र स्थानीयको २० लाख गरी कुल ४० लाखमा त्रिवेणि १ मा आर्थिक वर्ष २०७७/०७८ मा अदुवा ब्लक कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रम अन्तरगत उत्पादन भएको अदुवा नविकेर किसानहरु हैरान भएका छन् ।
लागतको तुलनामा निकै कम मात्र मुल्य पर्ने भएपछि अदुवा बिक्रि गर्न नसकिएको अदुवा उत्पादक किसान सबिन ओलीले बताउनुभयो । अहिले बजारमा प्रति क्विन्टल २ हजारसम्म मुल्य पाउने अवस्था पनि नरहेको उहाँले बताउनुभयो । यसरी बिक्रि गर्ने हो भने प्रति किलो २० रुपैंमा पनि पाउँन मुश्किल रहेको ओलीले बताउनुभयो । लागतको तुलनामा निकै कम मात्र मुल्य पाईने भएपछि अहिले अदुवा घर घरमै थन्किएको अर्का किसान अमर बुढाले बताउनुभयो । उहाँका अनुसार वडामा करिब २५ सय क्विन्टल बढी अदुवा थन्किएको छ ।
‘एक त बजार पाउने अवस्था छैन्, त्यसमा पनि मुल्य एकदमै कम भएका कारण बेच्न सकिने अवस्था छैन्, घर घरै क्विन्टलका क्विन्टल अदुवा थन्किएको छ, उहाँले भन्नुभयो ।’ पहिलो पटक अदुवा ब्लक कार्यक्रम संचालन भएपछि वडामा ठुलो मात्रामा अदुवा उत्पादन भएको हो । तर अदुवाले बजार र मुल्य दुवै नपाएपछि भने त्यहाँका कृषकहरु अदुवा देखि डराउने अवस्थामा पुगेको वडा सदस्य लक्ष्मण ओलीले बताउनुभयो । बजारका लागि पहल गर्दा पनि मुल्य नपाउने समस्या रहेको उहाँको भनाई छ ।
बजार सरकारको नियन्त्रणमा छैन्ः गाउँपालिका अध्यक्ष
गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बजार सरकारको नियन्त्रणमा नरहेको बताउनुभयो । केही सिमित व्यापारीहरुले बजारलाई नियन्त्रणमा राखेका कारण किसानले मुल्य पाउन नसकेको उहाँले बताउनुभयो । गाउँपालिकावासीले उत्पादन गरेको अदुवा बिक्रिका लागि विभिन्न व्यापारीहरुसंग पहल गरेपनि मुल्य हाल्न कोही तयार नभएको उहाँको भनाई छ । तर उहाँले किसानहरुलाई भने नआत्तिन आग्रह गर्नुभएको छ । एक सिजन बजार पाएन भन्दैमा विस्थापित हुन नपर्ने उहाँको सुझाव छ । अहिले किसानले लागत भन्दा निकै कम मात्र मुल्य पाएका कारण बिक्रि गर्न सक्ने अवस्था नभएको र यसप्रति गाउँपालिका गम्भिर रहेको समेत उहाँले बताउनुभयो ।
गाउँपालिकामै भएको अदुवा प्रशोधन केन्द्र संचालनमा आएन्
करोडौंको लगानीमा गाउँपालिकाको वडा नम्बर ६ दहवाङमा अदुवा प्रशोधन केन्द्र निर्माण गरिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको लगानीमा प्रशोधन केन्द्र निर्माण गरिएको छ । गाउँपालिकामा उत्पादन भएको अदुवा प्रशोधन गरी बजार पठाउने उद्ेश्यले स्थापना गरिएको प्रशोधन लामो समयसम्म पनि संचालनमा आएको छैन् । केन्द्रका लागि ल्याईएका केही मेशिन बाटोमै बिग्रिएका कारण मर्मत गर्न पठाईएको....ले बताउनुभयो । एकातिर किसानले उत्पादन गरेको हजारौं क्विन्टल अदुवाले बजार पाउन सकेको छैन् भने अर्को तर्फ करोडौं खर्चिएर बनाईएको अदुवा प्रशोधन केन्द्र संचालनमा नआउँदा त्यसको प्रत्यक्ष मारमा किसानहरु परेका छन् ।
अदुवाको उर्वर भूमि त्रिवेणि
अदुवाका लागि त्रिवेणि गाउँपालिका उर्वर मानिन्छ । गाउँपालकाका सबै वडामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । गाउँपालिकाबाट वर्षेनी करोडौंको अदुवा जिल्ला बाहिर निर्यात हुने गरेको छ । पछिल्ला वर्षहरुमा स्थानीय सरकार सहित अन्य तहका सरकारहरुले लगानी बढाएपछि उत्पादन बढ्दै गएको छ । तर बजारको उचित व्यवस्थापनमा भने सरोकारवाला चुक्दा किसानले बजार र मुल्य दुवै पाउन सकेका छैनन् । जसका कारण किसानहरु विस्तारै अदुवा खेतिबाट विस्थापित त हुने हैनन् भन्ने चिन्ता थपिएको छ ।