रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकामा रातीमा पनि हेलिकोप्टर ल्याण्ड गर्न मिल्ने नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको लगानी र नेपाली सेनाको प्राविधिक सहयोगमा वडा नम्बर ६ को सतिपोलेमा हेलिप्याड निर्माण भएको हो ।
जटिल अवस्थाका गर्भवति तथा सुत्केरी र दुर्घटनामा परी गम्भिर घाइते भएको तथा गम्भिर बिरामी भएकालाई थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लैजान सजिलो होस भनेर हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो ।
हेलिप्याड निर्माणमा गाउँपालिकाले १२ लाख लगानी गरेको उहाँले बताउनुभयो । यसअघि अस्थायी हेलिप्याड रहेको नरसिंह दल गणको खारा ब्यारेक नजिकै नाइट भिजन हेलिप्याड निर्माण गरिएको उहाँको भनाई छ । अव जटिल अवस्थामा रहेको बिरामीहरुलाई रातको समयमा पनि उद्धार गरेर अस्पतालसम्म लैजान टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
यो जिल्लामा निर्माण गरिएको पहिलो नाइट भिजन हेलिप्याड रहेको गाउँपालिकाले जनाएको छ । जिल्लामा यस अघि पनि विभिन्न ठाउँमा हेलिप्याडहरु निर्माण गरिएपनि नाइट भिजन हेलिप्याड भने निर्माण गरिएको थिएन् ।