Kakhara सबैको खबर सम्पूर्ण खबर
चार कानून निर्माण सम्बन्धी छलफल 

रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले ४ वटा कानूनका बारेमा सरोकारवालासंग छलफल गरेको छ । नगर कार्यपालिकामा पेश गर्ने तयारीमा रहेका आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०७८, संस्था दर्ता नियमावली २०७८, युवा प्रवद्र्धन तथा स्वरोजगार कार्यक्रम संचालन कार्यविधि २०७८ र अटो रिक्सा व्यवस्थापन निर्देशिका २०७८ उपर छलफल भएको हो । 

यि कानूनमा गरिएका व्यवस्था र सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल गर्न आज नगरपालिकामा बैठक संचालन गरिएको हो । चार वटा कानुनमा भएका व्यवस्थाका बारेमा नगरपालिकाका कानून अधिकृत ललित बुढाले जानकारी गराउनुभएको थियो । त्यसमा सहभागिहरुले थप गर्नुपर्ने वा सुधार गर्नुपर्ने विषयमा सुझाव राखेका थिए । 

यि कानूनलाई आगामी नगर कार्यपालिका बैठकमा पेश गर्ने प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिनुभयो । त्यसमा थप छलफल गरी कार्यपालिका बैठकबाट पास गरिने उहाँले बताउनुभयो । ग्रामिण युवा सरोकार केन्द्रको सहयोगमा नगरपालिकाले बैठक आयोजना गरेको हो । 

बैठकमा नगर प्रमुख देविलाल गौतम, प्रमुख प्रशाकीय अधिकृत नरहरी तिवारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, विभिन्न शाखाका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update