रुकुम पूर्वमा ठूलो परिमाणको लागु औषध अफिम सहित तीन जना पक्राउ परेका छन । प्रहरीले १८ किलो ५ सय ग्राम अफिमसहित ३ जनालाई छुट्टाछुट्टै ठाउँबाट फरक फरक समयमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर ३ झुम्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका वडा नम्बर ४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे ३ झुम्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिकमत पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार ताराप्रसाद र मन्सरामलाई १४ गते राती ११ः५० बजेको समयमा सिस्ने गाउँपालिका वडा नम्बर ६ को छिप्रीदहस्थित एक होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताउनुभयो । १४ गते दुई जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा हिकमत पनि अफिम कारोबारमा संलग्न भएको खुलेको हो । ५ किलो ५ सय ग्राम अफिमसहित हिकमतलाई पनि प्रहरी विहीबार पक्राउ गरेको हो ।